कर्णाली प्रदेश सरकारको व्याज अनुदानमा कार्यक्रम: १२ सय बढी कृषकले लिए सहुलियतपूर्ण कर्जा

सुर्खेत, १० भदौ (जागरण) । कर्णाली प्रदेश सरकारको व्याज अनुदानमा कार्यक्रम अन्र्तगत हालसम्म १२ सय भन्दा बढी कृषकले सहुलियतपूर्ण कर्जा लिएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार १२ सय २७ जनाले सहुलियतपुर्ण कर्जा लिएका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारीले बैंक तथा सहकारी संस्थाले ७१ करोड रकम परिचालन हुदा प्रदेश सकारले ४ करोड ३० लाख ३५ हजार व्याज तिरिलिदएको जानकारी दिनुभयो ।
उहाले प्रदेश सरकारले शुरु गरेको यो कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । अहिलेसम्म सरकारले ७१ करोड रकम ऋण प्रवाह गरिसकेको सुचना अधिकारी अधिकारीले कर्णाली रैबारसँग बताउनुभयो ।
कृषि क्षेत्रमा लगानी गर्न चाहने कर्णालीका हरेक उद्यमी कृषकले विभिन्न बैंकबाट दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । बाँकी सात प्रतिशत ऋण भने प्रदेश सरकारले तिरिदिने व्यावस्था छ । उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन बैंक र सकारले तोकिएका निर्देशित क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ ।
सरकारले कृषि, साना तथा मझौला उद्योगमा निश्चित प्रतिशत कर्जा दिने व्यवस्था गरेको पनि सुचना अधिकारी अधिकारीले जानकारी दिनुभयो ।
व्यवसायिक र उद्यमी कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदा प्रदेशमा कृषि उत्पादन बढाउने, कृषि उद्यमीहरु व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य हुने र युवाहरुले कृषिपेशाप्रति रुचि बढाउने प्रदेश सरकारको योजना छ । व्यवसायिक कृषि क्षेत्रमा थप प्रभाकारी बनाउन प्रदेश सरकारले यो आर्थिक वर्ष २०७९÷८० मा पनि ११ करोड रकम विनियोजन गरेको छ ।