सुर्खेत, १५ असार (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रहेको महिला तथा बालबालिका सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एक समारोहका बिच आज उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
भुकम्प प्रतिरोधात्मक उक्त भवन १ करोड २४ लाख ८५ हजार १ सय १५ रुपैयाँ लागतमा निर्माण भएको प्रहरीले जनाएको छ । भवन निर्माणसँगै अब महिला तथा बालबालिकाले सहज रुपमा सेवा पाउने भएका छन् ।
यसैबिच, भवनको उद्घाटन गर्ने महानिरिक्षक खनालले महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध अब प्रहरी कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । महिला तथा बालिकामाथि हुने बलात्कार तथा अन्य हिंसालाई जरैदेखि उखेल्नका लागि प्रहरी कडा रुपमा प्रस्तुत हुने उहाँको भनाई छ ।
समाजमा अपराधजन्य क्रियाकलाप गर्नेलाई रावण र राक्षसको संज्ञा दिँदै उहाँले अब तिनीहरुको अन्त्य गरेरै छाड्ने बताउनुभयो ।
कुनै पनि प्रहरी कर्मचारीले महिला तथा बालबालिकामाथि गलत व्यवहार गरेको थाहा पाउनासाथ पदबाट नै वर्खास्त गर्ने उहाँले चेतावनी दिनुभयो ।