कर्णालीका मुख्यमन्त्री शाहीलाई बालबालिकाको प्रश्नै प्रश्न

सुर्खेत । कर्णालीका बालबालिकाहरुले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई प्रश्नै प्रश्न सोधका छन । उनिहरुले बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि गर्न माग गरेका छन ।
विभिन्न संघ संस्थाहरुको सहयोगमा प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बाल अधिकार दिवसको पूर्व सन्धयामा आज वीरेन्द्रनगरमा आयोजना गरेको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बोल्दै उनिहरुले यस्तो माग गरेका हुन ।
उनिहरुले बालबालिका अहिले पनि श्रमममा परिरहेको, बालिका बलात्कार बढ्दै गएको तर्फ सरकारले किन ध्यान दिन नसकेको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका हुन ।
जनमावी सुर्खेतमा कक्षा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भइरहेको भन्दै बलात्कृत भएपछि पैसामा न्याय साटिने गर्दा बालअधिकार हनन भएको भन्दै प्रश्न गर्नुभयो । ‘बलात्कृत भएको बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय कसरी दिलाइन्छ, जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बाल अधिकार हनन गर्दैन र ? उहाको प्रश्न छ ।
सुर्खेतकै कृति काफ्लेले पनि कर्णालीमा बाल बिवाह धेरै भइरहेको भन्दै बालबिवाहविरुद्धका बनेका कानुनहरु लागु हुन नसक्नुको कारण माग गर्दै भन्नुभयो, ‘हाम्रो ठाउँमा धेरै बालबिवाह भइरहेका छन, बालबिवाहविरुद्धका कानुनहरु पनि बनेका छन, तर मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन लागु गर्न सक्नुभएको छैन ?
सुर्खेत जनमावीमा पढ्दै आएका खगेन्द्र विकले नेपालको संविधानले व्यवस्था गरेको बाल अधिकार अन्तरगतका जोखिममा रहेका बालबालिकाहरुको राज्यले संरक्षण गर्ने भनिएको बताउदै यसको कार्यान्वयन अवस्थाका बारेमा मुख्यमन्त्री शाहीलाई सोध्नुभयो ।
कार्यक्रममा विभिन्न जिल्लाका बालबालिकाहरुले टेलिफोन र भिडियो मार्फत मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए भने राउटे समुदायका बालबालिकाहरुले समेत राउटे बालबालिकालाई प्रदेश सरकारले के गर्छ ? भनेर प्रश्न सोधेका थिए ।
यता, बालबालिकाको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले भने संविधानमा उल्लेखित बालबालिका सम्बन्धि हक र अधिकार कार्यान्वयनको लागि प्रतिवद्ध रहेको भन्दै सबै पक्षले हातेमालो गरेमात्र कानुन कार्यान्वयनमा सहजता हुने बताउनुभयो । उहाले भन्नुभयो,
उहाले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठुलो समस्या बनेको तर्फ प्रदेश सरकार गम्भिर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । ‘यस्ता अपराध न्युनिकरण गर्न सबै जुट्पर्यो, म अस्ती जुम्लामा जाँदा चार बर्षिया बालिका बलात्कृत भएको घटना थाहा पाए । यस्ता घटना न्युनिकरणको लागि हामी सबै एक भएर अगाडी बढौँ ।’ उहाले थप्नुभयो, ‘छुवाछुत विरुद्धको कानुन त २०२० सालमा बनिसकेको थियो नी, तर छुवाछुत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो, त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौ ।’ बालबिवाह न्युनिकरणमा सरकार लागिरहेको भन्दै उहाले यसको लागि पनि सचेतना नै पहिलो प्रथामिकता भएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद कार्पी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी पनि वक्ताको रुपमा रहनुभएको थियो । कार्यक्रममा विभिन्न सचेतनामुलक सांस्कृतिक कार्यक्रमहरु पनि प्रदर्शन गरिएको सामाजिक विकास मन्त्रालय महिला विकास महाशाखा महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो ।