कर्णाली रैबार अब काठ्माण्डौँबाट प्रसारण हुने

जागरण संवाददाता
सुर्खेत, ३१ भदौ ।
कर्णालीका दश वटै जिल्लाका विभिन्न सामुदायिक रेडियोहरुबाट प्रसारण गरिदै आएको कर्णाली रैबार आजदेखि संघीय राजधानी काठमाण्डौमा पनि प्रसारण शुभारम्भ भएको छ ।
प्रदेश राजधानी सुर्खेतबाट प्रसारणमा रहेको जागरण एफ।एम।ले उत्पादन गर्ने कर्णाली रैबार काठ्माण्डौँको नेपाल एफ एम नेटवर्कबाट प्रसारण आरम्भ भएको हो । जागरण एफ एमले २०७५ सालदेखि कर्णालीका अन्य सामुदायिक रेडियो संगको सहकार्यमा हरेक दिन विहान साढे पाँच बजे र बेलुका ७ बजेदेखि आधा घण्टाको समचारमूलक कार्यक्रम कर्णाली रैबार प्रसारण गर्दै आएको छ । कर्णाली रैबार प्रसारण गर्ने रेडियोको संख्या अहिले २८ पुगेको छ ।
काठ्माण्डौँमा उत्पादन भएका समाचार तथा कार्यक्रम मात्रै बाहिर जिल्लामा बजाउने परम्परालाई तोड्दै कर्णालीका सवाल संघीय राजधानीमा सुनाउन कर्णाली रैबारलाई काठ्माण्डौँबाट प्रसारण गर्न लागिएको स्टेशन प्रमुख गोविन्द खत्रीले बताउनुभयो । कर्णाली राजधानी काठ्माण्डौँको नजरमा नपर्दा विकास र सेवा सुविधामा पिछडिएको भन्दै कर्णालीका विषय काठ्माण्डौँमा बस्ने नीति निर्माताहरुलाई सुनाउन कर्णाली रैबार महत्वपूर्ण माध्यम हुने स्टेशन प्रमुख खत्रीको भनाइ छ ।
जागरण एफ एमले आजदेखि प्रसारणका १४ बर्ष पूरा गरेको छ । १४ औँ बार्षिक उत्सवको अवसर पारेर आफ्नो प्रसारणलाई काठ्माण्डौबाट पनि जोडेको जनाएको छ ।