बार्सीलोना, १६ असार । मुगुका किशोरीहरु फुटबल खेल्न स्पेन पुगेका छन् । मुगुका भिरालो पाखामा मोजाका डल्लाहरुसँग खेलेर हुर्केका किशोरीहरु अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी बन्न शुक्रबार साँझ बार्सिलोना पुगेका हुन् ।
जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियान हुने ‘डोनोष्टि कपमा सहभागिता जनाउन नेपाली किशोरीहरु स्पेन पुगेका हुन् । जहाँ ३३ देशबाट ६ सय ३० टिमको भिडमा टीम राराका १७ किशोरीहरु पनि प्रतिस्पर्धामा उत्रने छन्।
उनीहरुलाई काठमाडौं देख्नु नै ठूलो सपना थियो तर तिनै किशोरीहरु विश्व चर्चित खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले कर्मथलो बनाएको स्पेनमा पुगेर फुटबल खेल्दैछन्।
प्रतियोगिताको उदघाटन समारोहमा मुगुको टिमलाई राष्ट्रिय झण्डा र परम्परागत पोशाकसहित मार्चपास गर्न छनोट गरिएको टिमका डाइरेक्टर भोजराज भाटले जानकारी दिनुभयो । उहाँले निर्देशन गरेको डकुमेन्ट्री सुनाकलीको प्रभावका कारण किशोरीहरुलाई स्पेन निमन्त्रणा गरिएको हो ।
डोनोष्टी कपमा १० वर्षदेखि १८ वर्षसम्मको उमेर समूह अनुसार टिम तयार गरिएको छ। पुरुषतर्फ बी–१० देखि बि–१८ सम्म झन्डै ३५० टोली छन् । महिलातर्फ भने जी–१२, जी–१४, जी–१६ र जी–१८ को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
टिम रारा रहेको जी–१४ मा (१४ वर्ष उमेर समूह) ९ समूह छन् र ३६ टिमहरु सहभागी हुनेछन्। ग्रुप जी अन्तर्गत राराले अमारा बेर्रीके, आनोग्रा केकेई र म्याड्रिड सीएफएफबीसँग खेल्ने छ । समूह चरण पार भएमा जुलाई ५ र ६ तारिख नकआउटचरणमा पनि प्रतिस्पर्धा गर्नेछ ।
‘सुनाकली’ डकुमेन्ट्रीको प्रभाव
मुगुका किशोरीहरुको फुटबल जीवनमा आधारित ‘सुनाकली’ डकुमेन्ट्री अहिले अन्तराष्ट्रिय स्तरमा नै चर्चित छ । पत्रकार भोजराज भाटले निर्देशन गरेको डकुमेन्ट्री युरोपमा मात्र हैन संसारभर बिभिन्न फिल्म फेस्टिभलमा प्रदर्शन गरियो । यसले नेपालको डकुमेन्ट्री इतिहासमा नै सबैभन्दा बढी अन्तरराष्ट्रिय अवार्ड जित्ने रेकर्डसमेत बनायो ।
रोप, दक्षिण अमेरिकी मुलक तथा एसियाका बिभिन्न १८६ फिल्म फेस्टिभलमा प्रदर्शन भएको उक्त डकुमेन्ट्रीले २३ वटा अन्तराष्ट्रिय अवार्ड जित्यो ।
यही प्रभावले नै अहिले स्पेनको डोनोष्टी कपसम्मको यात्रा नेपाली चेलीहरुका लागि सम्भव भएको हो ।
त्यसो त डकुमेन्ट्रीकी मुख्य पात्र सुनाकली बुढा गत बर्ष स्पेनसमेत पुग्नुभयो । ‘हाम्री सुनाकली कस्ती ! मेस्सी जस्ती’ भनेर चर्चा पाउनुएकी उहाँले फुटबलका लागि सपनाको देश मानिने स्पेन आएर चर्चित फुटबलरहरुसँग भेट गनुृभयो । ‘थिङ्कङि फुटबल फिल्म फेस्टिवल’ र एथलेटिक क्लब बिल्वाओको निमन्त्रणामा निर्देशक भाट र सुनाकली बुढा स्पेन पुगेका थिए ।
फिल्म फेस्टिवलको एक भव्य समारोहबीच दुबै सम्मानित हुनुभयो । सुनाकलीको अन्तराष्ट्रिय स्तरमा झनै उचाइ बढ्यो । स्पेन बिल्बाओको एक लोकप्रिय पत्रिका ‘डइया’ले सुनाकलीको लामो कभरेजसमेत प्रकाशित गर्यो । उहाँले एथ्लेटिक क्लब बिल्वाओको महिला टिमसँगै फुटबल पनि खेल्नुभयो ।
विश्व प्रसिद्ध ला लिगा खेल्ने खेलाडीहरु ओस्कार डी माक्रोस, मिकेल ब्यालेनजियागा लगायतले उहाँलाई आmनो जर्सी उपहार दिए । मुगुमा मोजाका डल्लाहरुसँग फुटबल खेल्नुभएकी सुनाकलीले विश्व प्रसिद्ध फुटबल क्लवको कृत्रिम घाँसे मैदानमा खेल्ने अवसर समेत पाउनुभयो ।सुनाकली अहिले काठमाडौँको लिटिल एञ्जलसमा १२ कक्षामा अध्ययनरत हुनुहुन्छ । एउटा विपन्न परिवारमा जन्मिएकी सुनाकलीलाई डकुमेन्ट्रीकै कारण यति ठूलो अवसर मिल्यो । अन्य दुई खेलाडी पनि अहिले काठमाडौँको स्कूलमा अध्ययन गरिहेका छन् ।