कर्णालीमा ऐन निर्माणमा भन्दा सत्ता स्वार्थ र पार्टीका गतिविधिमा सांसदहरुको ध्यान ।

जागरण, संवाददाता
सुर्खेत, ६ असोज
प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको प्रमुख जिम्मेवारी संसदमा उपस्थित भएर ऐन निर्माण प्रक्रियामा सहभागी हुनु हो । तर सांसदहरु आफ्नो जिम्मेवारीबाट विचलित भएको देखिन्छ ।
कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल हेर्दा सांसदहरुले बीचमै पद गुमाउनेदेखि ससद बैठकमा अनुपस्थिति जनाउने प्रवृति देखिएको छ । पाँच बर्षमा कर्णाली प्रदेशसभाको दुई सय १७ वटा बैठक बसेको छ । तर बैठकमा कुनै पनि प्रदेशसभा सदस्य सतप्रतिशत उपस्थित भएका छैनन् ।
प्रदेशसभा सचिवालयले दिएको तथ्याङ्कका अनुसार संसद्मा धेरै अनुपस्थित हुनेमा बहालवाला र पूर्वमन्त्रीहरू छन् । सचिवालयको रेकर्ड अनुसार सबै भन्दा बढी अनुपस्थित हुनेमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुनुहुन्छ । शाही २ सय १७ मध्य ८४ वटा संसद् बैठकमा मात्रै उपस्थित हुनु भएको हो ।
प्रदेशसभामा सबैभन्दा धेरै उपस्थित हुनेमा भने नेकपा एमालेकी सांसद राजु नेपाली हुनुहुन्छ । उहाँ प्रदेशसभाका दुई सय १७ वटा बैठक बस्दा दुई सय १० दिन उपस्थित हुनु भएको छ । उहाँ ७ वटा बैठकमा मात्रै अनुपस्थित हुनु भएको हो । यस्तै दोस्रोमा नेपाली कांग्रेसकी सांसद झोवा विक संसद्मा दुई सय ७ दिन उपस्थित हुनुभएको छ ।
त्यस्तै, मुख्यमन्त्री जीवनबहादुर शाही एक सय ६४ दिन संसद् बैठकमा हाजिर हुनुभएको छ भने उहाँ ५३ बैठकमा गयल हुनुहुन्छ । शाही मुख्यमन्त्री बन्नु अघि प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा रहनुभएको थियो । उहाँ नेपाली कांग्रेस संसदीय दलका नेतासमेत हुनुहुनछ।
कर्णाली प्रदेशसभामा सत्तापक्ष जस्तै प्रतिपक्ष दलका सांसदहरूको उपस्थिति कम्जोर नै देखिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका नेता यामलाल कँडेल एक सय ७२ दिन संसद् बैठकमा उपस्थित हुनुभएको छ । उहाँ संसदमा ४३ वटा बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
एमालेका प्रमुख सचेतक गुलाबजंग शाह एक सय ९६ दिन बैठकमा उपस्थित हुनुभएको छ । प्रदेशसभामा माओवादी केन्द्रका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा अहिलेसम्म प्रदेशसभाका बैठकमा एक सय ४९ दिन उपस्थित हुनुभएको छ । शर्माले ६८ दिन संसद्को बैठक अनुपस्थित हुनुहुन्छ । प्रदेशसभा सदस्य सोशीला शाही एक सय ८९ दिन उपस्थित हुनुभएको छ । उहाँ कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी एक्ली सांसद हुनुहुन्छ ।
यस्तै कांग्रेसकै प्रदेशसभा सदस्य अमृता शाही एक सय ८९ दिन उपस्थित हुनुहुन्छ । शाही प्रदेशसभामा कांग्रेसकी सचेतक समेत हुनुहुन्छ । एमालेकी प्रदेशसभा सदस्य मिनासिंह रखाल पनि दुई सय चार दिन र पद्मा खड्का दुइ सय ३ दिन उपस्थित भएको संसद् सचिवालयले जनाएको छ ।
प्रदेशसभाका सदस्यहरूले संसद् बैठक भन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिदै आएका छन् । संसद् जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू पछि हटेको देखिन्छ ।
कर्णालीका सांसदहरू जनताका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचनासमेत हुदै आएको छ । कर्णाली प्रदेशसभाका ४० मध्य ६ जना सांसदले विचमै पद गुमाएका छन् ।
एमालेका निर्वाचित भएका सल्यानका प्रकाश ज्वाला, दैलेखका अमर बहादुर थापा, कालिकोटका कुर्मराज शाही र डोल्पाका नन्द सिंह बुढाले फलोर क्रस गरेर पद गुमाएका थिए । भने नेकपा माओवादीबाट निर्वाचित भएका दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर बिष्टले बीचमै सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । जनताले आफ्नो प्रतिनिधिका रुपमा पठाएका सांसदहरुले सत्ता स्वार्थले बिचमै पद त्याग गरेर मतदातामाथि अन्याय गरेको भन्दै आलोचना हुँदै आएको छ ।

कुन सदस्य संसदमा उपस्थित कति
प्रदेश सभा सभामुख राजबहादुर शाही २ सय १७, पुष्पा घर्ति विष्ट २ सय २ , राजु नेपाली दुई सय १०, झोवा वि.क. दुइ सय ७, मिना सिंह रखाल दुई सय ४ र पद्मा खड्का दुइ सय ३ दिन ।
यस्तै, गुलाव जंग शाह एक सय ९६, देवी ओली एक सय ९४,यज्ञ बहादुर बि.सि. एक सय ९३, गणेश प्रसाद सिंह एक सय ९०, बिन्द मान विष्ट एक सय ९०, अमृता शाही एक सय ८९, सोशीला शाही एक सय ८९, सुशील कुमार थापा एक सय ८९, सीता कुमारी नेपाली एक सय ८८, वीर बहादुर शाही एक सय ८७, दीनबन्धु श्रेष्ठ एक सय ८५, करविर शाही १ सय ८३, पदम बहादुर रोकाया एक सय ८३, चन्द्र बहादुर शाही एक सय ८१, दान सिंह परियार एक सय ८० दिन ।
यस्तै, कृष्ण शाह (आचार्य) १ सय ७७, रातो कामी एक सय ७७, हिम बहादुर शाही एक सय ७६, दल रावल १ सय ७२, यामलाल कँडेल १ सय ७२, कौशिलावती खत्री १ सय ६६, खड्क बहादुर खत्री एक सय ६५, जीवन बहादुर शाही एक सय ६४, बदमी क्वारी बोहोरा एक सय ६२,ठम्मर बहादुर विष्ट १ सय ६१ दिन ।
यस्तै, नरेश भण्डारी एक सय ५२, गोपाल शर्मा एक सय ४९, बिमला के.सी. एक सय ४६ , अम्मर बहादुर थापा १ सय ३३, कुर्मराज शाही १ सय २८, प्रकाश ज्वाला एक सय २१, धर्मराज रेग्मी एक सय १७, नन्दसिंह बुढा एक सय ५, महेन्द्र बहादुर शाही २ सय १७ मध्ये शाही ८४ वटा संसद् बैठकमा मात्रै उपस्थित रहुनुभएको छ ।