गैर खाद्य वस्तु विक्रि वितरण गरेको पाइए कारवाही गरिने

सुर्खेत । चाडपर्व नजिकिएसँगै कर्णाली प्रदेशमा बजार अनुगमन तिब्र पारिएको छ ।
दशै, तिहार छठ लगायत चाडपर्वमा म्याद गुज्रेका, कुहिएका तथा अखाद्य वस्तुको विक्री गर्ने तथा कालोबजारी बढ्ने भन्दै बजार अनुगमनलाई तिब्र बनाइएको हो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी, नागरिक संघसंस्था, उपभोक्ता तथा व्यापारीका संघ संगठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नाप तौल कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिको संयुक्त टोलीले संयुक्त बजार अनुगमन जिल्ला जिल्लामा भइरहेका छन् ।
बजार अनुगमनको क्रममा त्रुटी फेला परेमा व्यवसायीलाई सम्झाई–बुझाई गर्ने तथा गैरखाद्य बस्तु नष्ट गर्ने कार्य गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशका प्रमुख भेषबहादुर थापाले सबै जिल्ला जिल्लामा अनूगमनलाई तिब्रता दिइएको बताउनुभयो । उहाले भन्नुभयो, “उपभोक्ताको खाद्य अधिकार सुनिश्चित गर्न चाहान्छौ, तर बजारमा मिसावट गरेर बेच्ने, उपभोक्ता ठग्ने, लगायतका कार्य गर्नेलाई कारवाही गरिन्छ । यसको लागि अहिले प्रदेशका सबै जिल्लामा अनुगमनलाई तिव्रता दिइएको छ ।”
यस्तै, गुणस्तर तथा नाप तौल कार्यालयले पनि चाडपर्वमा कारोवार बढी नै हुने भएकाले बजार अनूगमनलाई जोड दिएको बताएको छ ।
कार्यालयका निमित प्रमुख टोपेन्द्र विकले यो चाडवाडको समयमा भन्दा पनि अन्य समयमा बजार अनूगमनको काम गर्दै आएको बताउनुभयो । कुनै न कुनै व्यावसायीकले प्रयोग गर्ने यन्त्रहरु ठिक छकी छैन भनेर यन्त्रको अवस्था नाप तौल गर्दै आएको उहाँको भनाइ छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको अनुगमन थालेको जनाएको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार अनुगमनका क्रममा मसला, दालमोट, नरिवल, लड्डु, केक, किप्स, चिप्स, दाल, पिठो, सुजि, काजु, कोल्ड ड्रिङ्स्, चिउरा, मिठाईलगायत नियन्त्रणमा लिएर स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा जलाई नष्ट गरिदै आएको छ ।
दसै तथा तिहारमा नागरिकको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनकारी कार्यलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।