कर्णाली प्रदेशबाट दशैको लागि ५० हजार खसीबोका र भेडा च्याङ्ग्रा निर्यात, करिब ६० करोडभन्दा धेरै रकम भित्रियो

जागरण,संवाददाता
सुर्खेत, १८ असोज
कर्णाली प्रदेशबाट यो बर्ष दशैको लागि ५० हजार खसीबोका र भेडा च्याङ्ग्रा निर्यात भएको छ ।
प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको पशुपंक्षी विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशभरबाट ५० हजार खसी बोका र भेडा च्याग्रा निर्यात भएको हो । प्रदेशबाट ५० हजार खशी बोका र भेडा च्याग्रबाट बाट करिब ६० करोडभन्दा धेरै रकम कर्णालीमा भित्रिएको निर्देशनालयका सुचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।
कर्णालीमा पछिल्लो समय खसीबोका र भेडाच्याङ्ग्रा उत्पादनमा वृद्धि भइरहेको बताउँदै उहाले स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रमहरु संचालन गरि कृषकहरुलाई आकर्षित हुँदा पशुपालन व्यवसयाहरु बढेको र उत्पादनमा पनि वृद्धि भएको बताउनुभयो ।
अहिले प्रदेशका ४ बटा नाका सुर्खेतको कर्णाली चिसापानि कुइने र ह¥र्य, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुको लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन ।
गत बर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाय मासुको लागि निर्यात गरिएका थिए । ति मध्य केही खसीबोका विक्रि नभएर फिर्ता आएको उहाले कर्णाली रैबारसँग बताउनुभयो ।
निर्देशनालयका अनुसार दुइ हजारभन्दा धेरै खसी–बोका र भेडा–च्याङ्ग्रा फिर्ता भएको थियो । दसैतिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङ्ग्रा देशका विभिन्न ठुला शहरमा निर्यात हुने गरेको छ ।
विगतका वर्षहरु भन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडा च्याङ्ग्रा उत्पादनमा वृद्धि भएको देखाएको सुचना अधिकारी गिरीले बताउनुभयो ।
प्रदेशलाई पुग्ने खसीबोका र भेडाच्याङ्ग्राको मासु उत्पादनमा आत्मनिर्भर भएपनि अन्य पंक्षिजन्य मासु उत्पादन हुन सकेको गिरीले बताउनुभयो ।
पछिल्लो समय युवाहरु पशुपालनमा आकर्षित हुन थालेकाले पनि उत्पादनमा वृद्धि भइरहेको छ ।
पशुपन्छी विकास निर्देशनालयले अहिले उत्पादन मूखि कार्यक्रमहरु सञ्चालन गरिरहेको सूचना अधिकारी गिरीले बताउनुभयो ।