जागरण
सुर्खेत, २२ असोज । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीनदिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उनले भने, ’अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।’ नेपालमा मनसुन अझै सक्रिय रहेकाले वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताउनुभयो ।
हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ ।
प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।
