सुरक्षित गर्भपतन बारे सचेतना आवश्यक

सुर्खेत, ३ कात्तिक ।
सुरक्षित गर्भपतनका बारेमा सचेतना अभिबृद्धि गर्न आबश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बियोण्ड बेइजिङ्ग कमिटिको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियमा सहभागिले अझै पनि ग्रामीण स्तरमा सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नभएको बताए ।
उनीहरुले यस सम्बन्धी जानकारीको अभावमा महिलाहरुले असुरक्षित रुपमा गर्भपतन गराईरहेको हुनाले धेरै जसो पाठेघर तथा प्रजनन स्वास्थ्यमा समस्या देखिने गरेको बताए । बिद्यालय, आमा समुह, महिला समुह जस्ता ठाउँहरुमा नियमित रुपमा सचेतना मुलक कार्यक्रम गर्न सके प्रभावकारी हुनेमा जोड दिए । कार्यक्रममा सहभागि वी.न.पा १२ की मिना कुमारी ढकालले यस्ता किसिमका सचेतना मुलक कार्यक्रम प्रभावकारी रहेको भन्दै गाउँ गाउँका महिलाहरुलाई पनि समेट्न जरुरी रहेको बताउनुभयो । ‘कहाँ गर्भपतन गराउँदा सुरक्षित हुन्छ, भन्ने नै कतिपय महिलाहरुलाइ थाहा छैन्’, वी.न.पा १० की रफितुन खानले भन्नुभयो’, ‘त्यसैले सुरक्षित गर्भपतन सेवामा पहुँच बृद्धि गर्न पहिला त सचेतना नै जरुरी देख्छु ।’
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी बिष्णु गुरुङ्गले सुरक्षित गर्भपतन बारे सहजिकरण गर्नुभएको थियो । वाम संस्थाकी कार्यकारी निर्देशक मधुरानी ढकालले सुरक्षित गर्भपतनमा अधिकार कार्यक्रम अन्तरगत बिद्यालयमा बिद्यालय बाहिर सचेतनामुलक कार्यक्रमहरु भईरहेको जानकारी गराउनुभयो ।