मानसिक स्वास्थ्यसंग सम्बन्धित नीति तथा कार्यक्रम बनाउछौँ–खनाल


जागरण संवाददाता
सुर्खेत, ४ कात्तिक ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले मानसिक स्वास्थ्यका क्षेत्रमा आवश्यक नीति, योजना तथा कार्यक्रम बनाउने बताउनुभएको छ ।
नगरपालिकाको गैर सरकारी संस्था समन्वय अनुगमन तथा संचालन समितिको संयोजक समेत रहनुभएका उपप्रमुख खनालले शुक्रबार कार्यालयमा आयोजित समितिको बैठकमा मानसिक स्वास्थ्य अहिलेको महत्वपूर्ण विषय भएकाले सरोकारवालाहरुसंग मिलेर काम गर्ने बताउनुभएको हो । मानसिक स्वास्थ्यका लागि परिवार समाज र राज्य मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ । नीतिगत संलग्नता सामाजिक समावेशीकरण तथा पैरवी मार्फत कर्णाली प्रदेशमा मानसिक स्वास्थ्यको मूल प्रवाहीकरण परियोजनाको परिचयात्मक कार्यक्रमका सन्दर्भमा बैठकको आयोजना गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले मानसिक स्वास्थ्यका सवालमा काम गर्नु महत्वपूर्ण भएको भन्दै आगामी दिनमा आवश्यक सहयोग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले विद्यालयमा पनि काम गर्न परियोजनालाई सुझाव दिनुभएको छ । कोशिश नेपालका कार्यक्रम संयोजक रुकुम टमटाले परियोजनाले वीरेन्द्रनगर नगरपालिकाका सबै वडामा काम गर्ने बताउनुभयो । उहाँले मानसिक अवरोध भएका व्यक्तिहरुलाई पनि कानुनले अपांगताका रुपमा परिभाषित गरेको भएपनि व्यवहारमा त्यस्ता व्यक्तिहरु समेटिन नसकेको भन्दै परियोजना मार्फत मानसिक अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र दिलाउन पैरवी गर्ने, मनोसामाजिक परामर्श गर्ने जानकारी दिनुभयो ।