प्रजनन् स्वास्थ्यमा सचेत बन्दै किशोरी

टेकराज केसी
दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ निवासी रुकमाया बुढाको २० बर्ष नपुग्दै बिवाह भयो । सानैमा विहे भएपछि उहाँको पढाइ पनि रोकियो । कलिलैमा बच्चा जन्मिएपछि उहाँको जिम्मेवारी पनि थपियो । शारिरीक रुपमा परिपक्व नभइ आमा बन्दा रुकमायाले विभिन्न समस्याहरु भोग्नुभयो । तर कलिलैमा विहे गरेकामा उहाँलाई अहिले पछुतो छ ।
सोही ठाउँकी दिलमाया खड्काको अवस्था पनि उस्तै छ । उहाँको पनि २० बर्ष नपुगी विहे भयो । सानैमा विहे गर्दा स्कुलको पढाइ रोकियो । घरव्यवहारमा अल्झिनुपर्ने बाध्यता आइलाग्यो । पढ्नुपर्ने उमेरमा बुहारीको भूमिका निर्वाह गर्दा उहाँलाई अहिले भने सानैमा विहे गरेकोमा पछुतो लागेको छ । रुकमाया र दिलमाया जस्तै धेरै किशोरीको पीडा उस्तै छ । गाउँमा अहिले पनि कलिलैमा विहे गर्ने र आमा बन्नेक्रम रोकिएको छैन ।
तर कलिलैमा विहे गर्दा हुने समस्या समाधानका लागि स्थानीय किशोरीहरु सचेत बन्न थालेका छन् । आफ्नो प्रजनन् स्वास्थ्यको मात्र होइन, स्थानीय किशोरीहरुले गाउँमा रहेका महिलाहरुको प्रजनन् अधिकारबारे पनि जानकारी दिन थालेका हुन् । सानैमा विहे गर्ने र प्रजनन् स्वास्थ्यमा ध्यान नदिदा समस्याहरु देखिन थालेपछि किशोरीहरुले अभियान नै संचालन गरेका हुन् । अभियानमा सामेल भएर किशोरीहरुले गाउँमा रहेका किशोरी र महिलाहरुलाई प्रजनन् अधिकार र स्वास्थ्यबारे सचेत गराइरहेका छन् ।
सानै उमेरमा बिवाह गर्दाको पश्चाताप उस्तै छ । सानै उमेरमा बिवाह भएपछि पढाईमा त बाधा पर्यो नै रोजगारी नहुँदा आर्थिक समस्या हुँदो रहेछ भन्ने उहाहरुलाई दुबै जनालाई अहिले आएर थाहा भयो । सेभद चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा गुराँस गाउँपालिकामा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्त सञ्चालित मेरो पहिलो बच्चा कार्यक्रम अन्तर्गत संचालिन कक्षामा सहभागी भएपछि मात्र सानैमा विहे गर्नुभएका दिलमाया र रुकमायाले आफ्नो प्रजनन् अधिकार र स्वास्थ्यबारे जानकारी प्राप्त गर्नुभयो । त्यसैले हिजोआज उहाँहरु पनि गाउँका किशोरीलाई प्रजनन् स्वास्थ्यबारे जानकारी दिने अभियानमा सक्रिय बन्नुभएको छ । अहिले उहाँहरु दुबैजना गाउँमा कलिलैमा विहे नगर्न किशोरीहरुलाई आग्रह गर्न थाल्नुभएको हो ।
गुराँस गाउँपालिकाको वडा नम्बर ८ का विभिन्न टोलमा मेरो पहिलो बच्चा कार्यक्रम अन्तर्गत संचालन भएको यो कक्षाबाट एकसय पाँच जना किशोरीहरुले प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षा लिएका छन् । सहजकर्ता मार्फत उक्त कक्षामा कलिलैमा विहे गर्न नुहुने, उमेर परिपक्व भएपछि मात्र पहिलो बच्चा जन्माउनुपर्ने, बच्चा जन्माउँदा जन्मान्तर कायम गर्नुपर्ने, गर्भवती अवस्थामा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुनुपर्ने, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र बच्चालाई पोषिलो खानेकुरा खुवाउने विषयमा किशोरीहरुलाई सचेत गराएको छ । यसबाट स्थानीय किशोरीहरुले प्रजनन् स्वास्थ्यबारे सचेत बनेको र समाजमा पनि उनीहरुले ज्ञान बाँड्न थालेका छन् ।
सोकेक नेपालका अनुसार ठाटी, दोवाटो, खनारा, गर्चा र पाल्ते दुवाचौरमा सञ्चालित कक्षामा किशोरीहरुले उमेर नपुगी गरिने बिवाहको असर, आमा र बच्चाको स्वास्थ्यको लागि परिवार नियोजनका साधनहरुको बारेमा जानकारी, नवविवाहित किशोरीको जिवनमा हुने परिवर्तनका बारेमा सिकेका छन् । उक्त कक्षाबाट सिकेको ज्ञानलाई अहिले आफैले विद्यालय र घरमा गएर सिकाउने गरिएको किशोरीहरु बताउँछन् । किशोरावस्थामा प्रजनन् स्वास्थ्यको महत्व, महिनावारी, उर्बरता बिधि तथा गर्भ कसरी रहन्छ, गर्भावस्थामा खतराका संकेतहरु, बच्चा जन्माउनका लागि गर्नुपर्ने तयारी, गर्भावस्थामा हुने भावनात्मक परिवर्तन र व्यवस्थापन गर्ने प्रक्रिया, नवजात शिशुमा देखा पर्ने खतराका चिन्ह, नवजात शिशुको हेरचाह, स्तनपान, यौन तथा प्रजनन् अधिकार लगाएतका विषयमा २० हप्तासम्म छलफल गरिएको सोसेक नेपालका स्थानीय सहजकर्ता गोपीसरा वलीले बताउनुभयो ।
स्थानीय किशोरी कल्पना वलीले भन्नुभयो,,‘कलिलैमा विहे गर्दा हुने असरबारे जानकारी थिएन, तर यो कक्षामा सहभागी भएपछि धेरै कुरा थाहा भयो । परिपक्व नभइ बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा पनि समस्या आउने रहेछन्, जन्मान्तरबारे पनि अब हामी सचेत भएका छौं ।’ उक्त कक्षामा सहभागि भएपनि नवविवाहित किशोरीहरुले बच्चा जन्माउने योजना र परिवार नियोजनका साधनको बारेमा सचेत भएका छन् भने अविवाहित किशोरीहरुले २० वर्ष पूरा भएपछि मात्र विहे गर्ने अठोट गरेका सोसेक नेपालका फिल्ड अधिकृत कमला मल्लले बताउनुभयो । उहाँका अनुसार कक्षामार्फत सकेसम्म कलिलै उमेरमा विवाह नगर्न र विवाह गरेपछि पनि बच्चा ढिलो जन्माउन किशोरीहरुलाई सचेत गराएको छ ।
यस्तै सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले यो कक्षामार्फत किशोरीहरु सक्षम र आत्मनिर्णय गर्नसक्ने बनेको बताए । परिवार नियोजनका अस्थायी साधनको बारेमा जानकारी नपाएकै कारण अधिकांश किशोरीको स्वास्थ्य खराब बन्दै गएपछि संस्थाले यो कक्षामार्फत किशोरीहरुलाई सजग बनाएको उहाँको भनाइ छ । परिवार नियोजनका साधनको प्रयोगले किशोरीको स्वास्थ्यलाई सुरक्षित गर्नुका साथै बालविवाह घटाउन सहयोग पुग्ने संस्थाको अपेक्षा छ । उहाँले भन्नुभयो, ‘किशोरीहरुलाई अहिले नै प्रजनन् स्वास्थ्यबारे सचेत बनाउनु आवश्यक छ, यसले किशोरीहरुको शारीरिक तथा मानसिक हित गर्नेछ । बालविवाह जस्तो भयानक समस्या न्यूनीकरणमा पनि किशोरीहरु नै सक्रिय हुँदा सहज हुन्छ ।’ मेरो पहिलो बच्चा कार्यक्रम मान्छेको व्यवहार परिवर्तनसँग सम्बन्धित रहेको उहाँको भनाई छ ।