सुर्खेत । कर्णालीमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्न मतदाताको घरदैलोमा व्यस्त छन् । प्रदेशका विभिन्न जिल्लाहरुमा ठूला दलदेखि स्वतन्त्र र साना दलहरू आ–आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन घरदैलोसँगै चुनावी सभा, भेला र गोष्ठी गरिरहेका छन् ।
आफ्नो पक्षमा मत माग्ने मात्र भन्दा पनि राजनीतिक दल र उम्मेदवारहरूले घरदैलोसँगै मतदाता शिक्षालाई समेत सँगसँगै अगाडि बढाएका छन् ।
उनीहरु अहिले बदर मतको सङ्ख्या कम गर्नका लागि मतदाता शिक्षामा आ–आफ्नै पाटिका कार्यकर्तालाई परिचालन गरेका छन् । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाएको जनाएको छ ।
गठबन्धन दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी)ले गाउँ–गाउँमा मतदाता शिक्षा पु¥याएको हो । गठबन्धनबाट फरक–फरक पार्टीको चिह्नमा एउटै मतदाताले मत दिनुपर्ने भएकाले मतदाता शिक्षा सञ्चालन गर्नुपरेको गठबन्धन दलहरुले जनाउका छन् ।
यता, निर्वाचनको समयमा हुन सक्ने दलको निर्वाचन चिन्ह बारे प्रभावकारिता कायम राख्न र मतदानमा देखिएको निर्वाचन चिन्हको अन्यौलता कम गर्न तालिम प्रदान गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जुम्लाको कनकासुन्दरी र सिंजा गाउँपालिकामा नमुना मतदान गरिएको छ ।
नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारीअभिनन्द चौलागाईले बताउनुभयो ।
उहाँका अनुसार एक नगरपालिका र ७ गाउँपालिका रहेको यस जिल्लामा हालसम्म सिंजा र कनकासुन्दरी गाउँपालिकामा पहिलोपटक नमुना मतदान कार्यक्रम गरिएको हो ।
निर्वाचनमा नागरिकको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् ।
त्यही क्रममा नेपालका लागि नेपाली पार्टी भ्रष्टाचारको अन्त्य, पृथ्वीपथ र नेपालवादको मुद्दालाई प्रखररुपमा उठाउँदै मत माग्न नागरिकको घरदैलोमा पुगेको छ ।
चुनाव चिह्न शङ्ख रहेको यस पार्टीले पहिलो हुने निर्वाचित हुने चुनाव प्रणालीतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा तथा समानुपातिकतर्फ एक सय १० उम्मेदवार उठाएको अध्यक्ष बालकृष्ण न्यौपानेले बताउनुभयो ।
पञ्चायत समयदेखि अहिलेसम्म सार्वजनिक उच्च ओहोदामा रहेका व्यक्तिको सम्पति छानबिन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजसंस्था, सांसद मन्त्रिमण्डलमा सामेल हुन नपाउने प्रावधानसहित भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली नागरिक आयोग गठनका मुद्दा उठाउँदै आएको छ ।
केही राजनीतिक दलले भने देशको सङ्कटापन्न स्थिति, बाह्य हस्तक्षेप, सामाजिक न्याय तथा आत्मनिरर्भता, महिला एवम् बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यासमेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
तर मतदाताले भने, पटक पटक मत दिएपनि आफूहरुको आकांक्षामा धोका हुने गरेको बताउदै आएका छन् ।
मतदाता आफूले आश गरेकै जनप्रतिनिधिबाट पटक पटक पीडा व्यहोर्नुपरेको गुनासो गरेका छन् । आफूहरूले निर्वाचित गराएपनि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको भनाइ छ ।
धेरै पटक मतदाताहरुले आफ्नो अमूल्य भोट दिएर निर्वाचित बनाएका नेताहरुले देश र जनताका लागि सिन्को भाँच्न सफल नभएको बताएका छन् ।
