निर्वाचन सुरक्षाको लागि कर्णाली प्रदेशभर करिब १४ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपुुर्ण वातावरणमा सम्पन्न गराउन कर्णाली प्रदेशभर १४ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरीएको छ ।
निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरीएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक एवम प्रवक्ता माधव प्रसाद श्रेष्ठका अनूसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदान स्थलमा ५ हजार ७ सय २९ जना नेपाल प्रहरी र ९ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएको हो ।
प्रहरीबाट मतदानस्थल रहेको वडा एरियाहरुमा पैदल गस्ती हुने छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “प्रत्येक नगरपालिका तथा गाउँपालिकाहरुमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाईल गस्ती र रिजर्भ टोली समेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाईएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।”
प्रदेश कमाण्ड पोष्टबाट प्रदेश स्तरिय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा हिमपात र भौगोलिक बिकटताका कारण निर्वाचन स्थलमा निर्वाचन सामाग्री र निर्वाचन पश्चात मतपेटिका ढुवानीको लागी हेलिकप्टरको व्यवस्था मिलाएको उहाले बताउनुभयो । उहाले भन्नुभयो, “माथिल्लो कर्णालीका जिल्लाहरुमा अब हिमपात पनि शुरु भइसकेको छ, यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारको लागि हेलिकोप्टरको प्रवन्ध पनि गरेका छौँ ।”
कर्णालीमा सुरक्षाका दृष्टिकोणले दुइसय सय भन्दा धेरै मतदानस्थल अति संवेदनशील मानिएका छन् ।
प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कर्णालीमा आवश्यक तयारीलाई तीव्र पारिएको छ ।
प्रदेशका विभिन्न जिल्लास्थित निर्वाचन कार्यालहरू निर्वाचन पूर्वका काममा जुटेका छन् । कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन ।
मदिरा विक्रि वितरणमा रोक
जिल्ला प्रशासन कार्यालयहरुले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचालाई मध्यनजर गर्दै मदिरा विक्रि वितरणमा रोक लगाएका छन ।
आफ्नो आफ्नो जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि मदिरा विक्रि वितरणमा रोग लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन ।
सुर्खेतमा पनि शुक्रवारदेखि मदिरा विक्रिवितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रुपमा रोक लगाउने निणर्य गरेको उहाले जानकारी दिनुभयो ।
प्रशासनले गरेको निणर्य कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोधसमेत गरेको छ ।
यस्तै मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निणर् भएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।