सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ ।
‘विकास, सुशासन र समृद्धिको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ भन्ने मूल नारा रहेको प्रतिवद्धता–पत्रलाई प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महताराले पार्टीको अनलाइन पोर्टल कर्णाली डट सिपिएन युएमएल डट ओराजीमार्फत सार्वजनिक गर्नुभयो ।
३२ पेज रहेको प्रतिवद्धतापत्रमा कर्णाली सरकारको पाँच वर्षको समिक्षा गर्नुका साथै गठबन्धन सरकारले निम्त्याएको बेथितिको भण्डाफोर गरिएको छ ।
प्रतिवद्धतापत्रमा कर्णाली जनता स्वास्थ्य अभियान, प्रादेशिक स्वास्थ्य अनुसन्धान केन्द्र स्थापना, ७० वर्ष नाघेका सम्पूर्ण जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार, जडीबुटी प्रशोधन केन्द्र स्थापना, पारामेडिकल प्राविधिक स्कूलको स्थापना, हरेक नागरिकलाई दुई हप्ते अनिवार्य स्वास्थ्य सचेतना, सुर्खेतमा मेडिकल कलेज, विद्यालय जान नसक्ने बालबालिकाका लागि विशेष व्यवस्था, कर्णालीका सबै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा, विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, बालिका छात्रवृत्ति र विद्यालय नर्स सेवा कार्यक्रम लगायतका कार्यक्रम अगाडी सारेको छ ।
जुम्लाको सिँजालाई ऐतिहासिक साँस्कृतिक केन्द्र, प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न खेलमैदान, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणलाई तिव्रता दिने कार्यक्रम अघि सारेको छ ।
एमालेले आफ्नो अग्रणी भूमिकाकै कारण प्रदेशसभाबाट प्रदेशको नाम कर्णाली र सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी तोक्न सफल भएको जनाएको छ ।
२०७४ सालमा नेकपा (माओवादी केन्द्र) सँगको चुनावी तालमेल र कर्णालीप्रति पार्टी केन्द्रको बेवास्ताको कारण प्रदेशसभामा बहुमत हुँदाहुँदै पनि माओवादी केन्द्रको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको प्रतिवद्धतापत्र उल्लेख छ ।
यता, सत्तारुढ गठबन्धनले कर्णालीमा दुई तिहाइ बहुमतसहितको सरकार बन्ने दाबी गरेको छ ।
१० वटै जिल्लामा अनुगमनपछि गठबन्धनले मंसिरपछि दुइतिहाई बहुमतसहितको बलियो सरकार गठबन्धनको नेतृत्वमा बन्ने दाबी गरेको हो ।
कर्णालीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले नौ सदस्यीय निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएर १० वटै जिल्लाको अनुगमन गरेको थियो ।
उक्त अनुगमनबाट गठबन्धनको पक्षमा दुइ तिहाईभन्दा धेरै मत जनताले दिने निश्कर्ष निकालिएको गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रीका प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।
सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले मंसिरपछि गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो ।
गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने व्यक्तिहरुलाई कारबाही समेत गरिसकिएको केसीले बताउनुभयो ।