हत्याको आरोपमा सुर्खेतको कालिदमारबाट एकजना पक्राउ

सुर्खेत । प्रहरीले वृद्ध महिलाको हत्याको आरोपमा सुर्खेतबाट एक जनालाई पक्राउ गरेको छ ।
लेकवेशी नगरपालिका–९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी ७३ वर्षीय डिल्लीसरा जैसी (भण्डारी) को हत्या आरोपमा कालिदमारबाट शालिकराम बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो । ३३ वर्षीय बास्तोला लेकवेशी नगरपालिका–९ कै हुनुहुन्छ ।
मृत्यु भएकी डिल्लीसरा र बास्तोलाविच सोमबार साँझ वादविवाद भएको अनुसन्धानको क्रममा खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डिल्लिसरा बस्दै आएको घरदेखि करिव एक हजार पाँच सय मिटर दुरीमा रहेको खेतबारीमा रहेको कच्ची घरमा दुवैविच विवाद भएको र वास्तोलाले धकेल्दा ढुंगामा टाउको ठोक्कीदा मृत्यु भएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ ।
‘छिमेकीहरुले आज (मंगलबार) विहान मात्रै मृत अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए,’ कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले भन्नुभयो, ‘जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय लेकवेशीको टोलीले अनुसन्धान गर्दा बास्तोला कालिदमारमा बहिनीको घरमा लुगेको अवस्थामा पक्राउ परेका हुन् ।’
डिल्लीसरा र बास्तोलाविचको नाता सासु ज्वाईँ रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै फरार रहेका उनलाई पछ्याउँदा घटनाको रहस्य खुलेको प्रहरी भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।