कर्णालीका सांसद भन्छन्ः बजेट मन्त्रीमुखी भयो

सुर्खेत, १६ असार (जागरण) । कर्णाली प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रतिपक्षसँगै सत्तापक्ष सांसदले समेत असन्तुष्टि जनाएका छन् ।
आजको संसद वैठकमा बोल्दै सांसदहरुले मन्त्री निकट योजनाहरु मात्रै बजेटमा समावेश गरिएकोे गुनासो गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायधिवक्ताको कार्यालय, उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय, भौतिक पुर्वाधार विकासअन्तर्गतका योजनाहरुमाथि दफावार छलफल गर्दै उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
सांदहरुले बजेट र क्षेत्र स्पष्ट रुपमा उल्लेख नगरिएको भन्दै पार्टी र व्यक्तिमुखी भएर योजना आफ्नो क्षेत्रमा पारिएको आरोप लगाएका छन् ।
अहिले बजेट विनियोजन गरिएका योजना जनताको आवश्यकता नभई सरकारको आवश्यकता भएको सांसदहरुले बताएका छन् ।
सांसदहरुले सरकारले ल्याएको रातो किताबले अहिलेको संघीय व्यवस्थालाई सम्बोधन गर्न नसकेको जिकीर गरेका छन् ।
वैठकमा बोल्दै सांसद दिनबन्धु श्रेष्ठले रातो किताबमा बजेट निश्चित रुपमा नसमेटिएको भन्दै विषयगत हिसाबले बजेट किन नआएको भन्दै प्रश्न गर्नुभयो ।
अहिले बजेटले मन्त्रीको नियतप्रति शंकाको वातावरण श्रृजना भएको उहाँको टिप्पणी थियो । बजेट व्यवहारिक नभएको भन्दै सांसद श्रेष्ठले तत्कालका जनताका आवश्यकतालाई बजेटले सम्बोधन नगरेको बताउनुभयो ।
बजेट कुनै मापदण्डको आधारमा नभई हचुवाको भरमा ल्याईएको सांसद श्रेष्ठको भनाई छ । साथै उहाँले जुम्लालाई सरकारले उपेक्षा गरेको गुनासो पनि गर्नुभयो ।
सांसद अम्मर बहादुर थापाले रातो किताबलाई कुनै पनि हालतमा नमान्ने भन्दै सरकारको यस्तो कामले जनतालाई समृद्धि दिन नसक्ने जिकीर गर्नुभयो ।
आफ्नो क्षेत्रमा कुनै पनि स्पष्ट योजना नपरेको उल्लेख गर्दै सांसद थापाले आफूहरुले जनतालाई जवाफ दिन नसक्ने खालको यस्तो बजेटको औचित्य नहुने टिप्पणी गर्नुभयो ।
छलफलमा भाग लिँदै सांसद कुर्मराज शाहीले सरकारले सार्वजनिक गरेको बजेट समाजवादतर्फ नभई पुँजीवादतर्फ केन्द्रित भएको टिप्पणी गर्नुभयो ।
सांसद गणेशबहादुर सिंहले रातो किताब असन्तुलित र अपारदर्शी ढंगले आएको बताउनुभयो । उहाँले यो बजेट मितव्ययीताको हितविपरित भएको भन्दै सरकारमुखी रातो किताब आएको आरोप लगाउनुभयो ।
सांसद धर्मराज रेग्मीले मन्त्री–मन्त्रीको बिचमा बजेटको सौदाबाजी भएमा दुर्भाग्यपुर्ण हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।
दस्तावेज हेर्दा बजेट केन्द्रिकरण भएको भएपनि केही क्षेत्रमा मात्रै बजेटले छोएको उल्लेख गर्नुभयो । मन्त्रीहरुको प्रतिनिधित्व रहेको ठाउँमा मात्रै बजेटले आवश्यकताहरु सम्बोधन गरेको सांसद रेग्मीको भनाई छ ।