सुर्खेत । मतदान सम्पन्न भएका केन्द्रबाट मतपेटीका गणनास्थलमा ल्याउने काम आइतवार साँझबाट सुरु भएको छ । हिमाली जिल्लाहरुको मतपेटिका ल्याउन केही ढिलाई भएको छ भने अन्य जिल्लाका मतदान केन्द्रको मतपेटिका मतगणना स्थलमा ल्याइसकिएको छ ।
सुर्खेतमा क्षेत्र नं. १ को मेहलकुना र २ को वीरेन्द्रनगरमा मतगणना हुनेछ । अघिल्ला निर्वाचनहरूमा दुवै निर्वाचन क्षेत्रको मतगणना एकै ठाउँबाट गर्ने गरिएकोमा यसपटक सम्बन्धित निर्वाचन क्षेत्रमै मतगणनाको व्यवस्था मिलाइएको छ ।
मतगणना आज सोमवारदेखि मात्रै सुरु हुने भएको छ । सुर्खेत क्षेत्र नं. १ को मतगणना भने तत्कालै हुनेछैन । त्यहाँ एउटा केन्द्रमा मतदान स्थगित भएकाले उक्त ठाउँमा मतदान भएपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताउनुभयो । निर्वाचन सम्पन्न भएका सबै ठाउँको मतपेटिका मतगणना स्थलमा करिब ल्याइसकिएको छ । उहाले भन्नुभयो, “सुर्खेत क्षेत्र नम्बर १ को एउटा मतदान केन्द्रको मतदान स्थगित भएकोले उक्त क्षेत्रको मतगणना भने तत्काल हुने छैन ।”
निर्वाचन क्षेत्र नं. १ को सिम्ता गाउँपालिका ६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि मतदान स्थगित भएको छ ।
क्षेत्र नं. २ को वीरेन्द्रनगरमा मतपेटीका संकलन गर्ने कार्य भइरहेको र अहिले मतगणना गर्ने तयारी भइरहेकोे बताइएको छ ।
क्षेत्र नं. २ को मतगणना वीरेन्द्रनगरस्थित सुर्खेत सभागृहमा हुनेछ । प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा आज सोमवारबाटै मतगणना थाल्नेगरी तयारी भएको प्रदेश निर्वाचन अधिकारी चालिसेले जानकारी दिनुभयो ।