कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुल्यो

सुर्खेत । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेबापतको नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना बापत जग्गा दिनेभएपछि निर्माणको बाटो खुलेको हो ।
हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राद्यिकरण प्रयोग गरे वापत अर्को जग्गा निकुञ्जलाई दिनका लागि प्रक्रिया सुरु भएपछि अवरोध हटेको कर्णाली प्रदेश विद्युत् प्राद्यिकरणका प्रमुख शम्भु कुसियात यादवले बताउनुभयो ।
एक सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन कोहलपुरदेखि सुर्खेतसम्म एक सय ६२ वटा पोल राख्नुपर्ने हुन्छ ।
जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र ७४ वटा पोल गाड्नुपर्ने विद्युत प्राधिकरणले जनाएको छ । जसमा ७४ पोलका लागि ४३ हेक्टर जमिन आवश्यक पर्छ ।
प्राधिकरणका अनुसार प्रसारणलाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटानमा पर्दछन् ।
आयोजना निर्माण क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेसी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छ ।
कर्णालीमा २०४५ सालमा जडान गरिएको ३३ केभी प्रसारण लाइनको भरमा विद्युत् सेवा सञ्चालन भइरहेको छ ।
दुई वर्षअघि ६० करोडमा ठेक्का लागेको प्रसारण लाइनको काम भदौमा नौ महिनाका लागि फेरि थप गरिएको छ ।
प्रसारण लाइन निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले लिएको छ ।
उसले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । अहिलेसम्म कम्पनीले ५० वटा पोलका लागि फाउन्डेसको काम गरेको छ । कर्णाली प्रदेशमा प्राधिकरणका एक लाख ग्राहक छन् ।