
सुर्खेत, १९ मंसिर ।
द्रोणाचल शिक्षा क्याम्पस दुल्लूका प्रमुख नरेन्द्रबहादुर बोहोराले विद्यालय शिक्षा हासिल गरिरहेका बालबालिकाहरुलाई उनीहरुको अधिकार र चेतनाको शिक्षाले उनीहरुको जीवनको मागदर्शक बन्न सक्ने बताउनुभएको छ ।
दैलेखको दुल्लूमा आइतवारदेखि सुरु भएको बाल अधिकार चेतना समूहका बालबालिकाहरुको लागि २ दिने अभिमुखीकरणको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो । बिकट गाउँबस्तीका बालबालिकाहरुका लागि बाल अधिकार चेतना कार्यक्रम परिमाणमुखी हुने बिश्वास व्यक्त गर्नुभयो ।
अभिमुखीकरणको उद्घाटन कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले बालबालिकाहरुलाई रचनात्मक सीप विकास गर्न अभिमुखीकरण राखिएको प्रष्ट्याउनुभयो ।
इएलपी कार्यक्रमका फोकल पर्सन दुर्गा थापा, प्रेमदेबी मावि पादुका प्रधानाध्यापक मणिराज जैसी र नेपाल राष्ट्रिय मावि किर्तिखम्ब शिक्षक लोकेन्द्र भण्डारीले पनि अभिमुखीकरण कार्यक्रमको महत्व विषयमा प्रकाश पार्नुभएको थियो ।
इन्सेकको कर्णाली प्रदेश कार्यालयले सञ्चालन गरेको इएलपी कार्यक्रम अन्तरगत दुल्लू नगरपालिकाका दुई वटा विद्यालय प्रेमदेबी मावि पादुका र नेपाल राष्ट्रिय मावि किर्तिखम्बमा गठित बाल अधिकार चेतना समूहका २६ जना बालबालिकाको तालिममा सहभागिता छ ।
बाल अधिकार, नेतृत्व सीप, लैंगिक हिंसा तथा समाजमा हुने विभेद बिरुद्ध खवरदारी, वातावरण शिक्षा लगायत भित्तेपत्रिका प्रकाशन समेतका विषयमा अभिमुखीकरण गर्ने विषय सूची छ ।
अभिमुखीकरणमा इन्सेक कर्णाली प्रदेश संयोजक सुबेदी, इएलपी कार्यक्रमका फोकल पर्सन थापा, इन्सेकको ‘अधिकार–२ परियोजना’का कार्यक्रम अधिकृत किरण पौडेल, इन्सेक दैलेख प्रतिनिधि अमर सुनारले सहजीकरण गर्नुभएकाे भएको छ ।
