सिंगारिदै कर्णाली प्रदेशसभा

सुर्खेत, १९ मंसिर ।
निर्वाचन आयोगले अन्तिम परिणाम दिएको २० दिन भित्रमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । मत गणना सकिएर आयोगले अन्तिम मतपरिणाम बुझाउने मिति नजिकीदै गर्दा कर्णाली प्रदेशसभा सचिवालय नयाँ सांसदहरुको स्वागतमा जुटेको छ । सचिवालय हल, पदाधिकारीका कार्यकक्ष, संसदीय दलका कार्यालय व्यवस्थापनदेखि रंगरोगन, सरसफाइ, बगैंचा गोडमेल लगायतका कार्यमा जुटेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको आधारमा दलको कार्यालय व्यवस्थापन, पदाधिकारी कार्यकक्षा, हल भवन रंगरोगनको काम भैरहेको प्रदेशसभाका सचिव जिवराज बुढाले बताउनुभयाे । ‘आधारभूत कुराहरु पहिले नै थिए आमूल परिवर्तन गर्नुपर्ने त छैन’ सचिव बुढाले भन्नुभयाे,‘दलहरुको पोजिसन केही परिवर्तन भएकाले सोही अनुसार कार्यालय व्यवस्थापन गर्ने हल तथा पदाधिकारी कार्यकक्ष सुधार एवं रंग रोगनका कामहरु भैराखेका छन् ।’
सचिवालयले नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नेकपा (एकिकृत समाजवादी), राप्रपाका लागि कार्यालय व्यवथापन गर्दैछ । राप्रपा र एकिकृत समाजवादीबाहेक दलका कार्यालय व्यवस्थापन भइसकेका छन् । निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा नगरेपनि प्रदेशमा राप्रपा र एकिकृत समाजवादीका सांसदहरु थपिने निश्चित भएको छ ।
गत कार्यकाल पहिलो अनुभव भएकाले हतार हतारमा व्यवस्थापन गर्दा सचिवालयले बिचमा आलोचना सहनुपरेको थियो । पहिले दलहरुको आलोचना खेपेको सचिवालय यस पटक भने हलदेखि कार्यकक्षसम्म सबै मिलाउनेगरी तयारीमा जुटेको हो । ‘गत कार्यकालमा हामीले पछिको अनुभान नगरेर दलहरुलाई कार्यालय दिनेदेखि हल भित्रका कुर्सी त्यही अनुसार राख्यौँ पछि सत्ता परिवर्तन, दल फाट्ने हुँदा पछि व्यवस्थापन गर्न अप्ठेरो परेको थियो’सचिव बुढाले थप्नुभयाे,‘यस पटक ती सबै कुराहरुलाई ख्याल गरेर तयारी गरिरहेका छौँ ।’
कर्णाली प्रदेशसभामा प्रत्यक्ष तर्फका २४ र समानुपातिक तर्फका १६ गरी जम्मा ४० जना प्रदेशसभा सदस्य संख्या रहेको छ । प्रत्यक्ष तर्फ नेपाली काँग्रेस र माओवादी केन्द्रका समान ९–९ जना, नेकपा एमालेका ५ जना र स्वतन्त्रबाट १ जना सदस्य निर्वाचित भएका छन् । समानुपातिक तर्फको पनि मत गणना सकिसकेको छ । समानुपातिकबाट काँग्रेस र एमालेको समान ५–५, माओवादी केन्द्रका ४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट र एकीकृत समाजवादीबाट १–१ जना सदस्य निर्वाचित हुने देखिएको छ ।