लैङ्गिक हिंसा निवारणका लागि ‘कर्णाली घोषणा पत्र’ सार्वजनिक


सुर्खेत, २१ मंसिर ।
कर्णाली प्रदेशमा लैङ्गिक हिंसा निवारण तथा सामाजिक समावेशीकरणका लागि ‘कर्णाली घोषणा पत्र’ सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेश सरकारको आयोजनामा प्रदेशका सबै पालिकाहरुका उपप्रमुखहरुको सहभागितामा सञ्चालन गरिएको दुई दिने कार्यशाला गोष्ठिपछि बुधबार उक्त घोषणापत्र सार्वजनिक गरिएको हो ।
२९ बुँदे घोषणापत्रमा आगामी दिनमा लैङ्गिक समानता, आर्थिक समृद्धि र सामाजिक न्याय कायम गर्न प्रदेश सरकार स्थानीय तहले प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयहरु उल्लेख गरिएको छ । प्रदेश तथा स्थानीय तहमा लैङ्गिक हिंसा एवम् विभेद निवारण तथा सामाजिक समाबेशीकरण र समाबेशी विकासलाई प्राथमिकता दिई बजेट विनियोजन गर्ने घोषणा पत्रमा जोड दिइएको छ ।
न्यायिक समितिलाई लैङ्गिक तथा सामाजिक समाबेशीकरणमैत्री बनाउन क्षमता अभिबृद्धि गर्ने, स्थानीय तहका लैङ्गिक सम्पर्क व्यक्तिको क्षमता अभिवृद्वि गर्ने कार्यलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने, आर्थिक तथा सामाजिक विकासका कार्यक्रममा लैङ्गिक हिंसा पीडितको लागि आर्थिक आय आर्जन तथा जिविकोपार्जनको क्रियाकलाप सञ्चालन गर्ने, महिलाको लागि शीप तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । यस्तै सामाजिक हानिकारक अभ्यास, लैङ्गिक हिंसा, सबै प्रकारका विभेद र शोषणको अन्त्य गर्न कानूनी व्यवस्थाहरूको बारेमा सचेतीकरण गर्ने, महिला सहकारी संस्था, एकल महिला समूह, लैङ्गिक हिंसा निगरानी समूह, किशोरी समूहहरू, युवा क्लब, बाल क्लब र पुरुषजनको सहभागिता मार्फत लैङ्गिक हिंसा एवम विभेद निवारण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने, विद्यालय विमुख बालिका, विद्यालय छोडेका किशोरीहरू, दलित तथा सिमान्तकृत समुदायका बालिकाहरूलाई शिक्षाको अवसर दिलाउन छात्राबास, छात्रवृत्ति जस्ता विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा भनिएको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री जीवन बहादुर शाहीले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउदा प्रदेश र स्थानीय सरकार दुबैले समावेशी विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले लैङ्गिक हिंसा प्रभावितहरुको आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश स्तरमा छुट्टै कोष बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि सहयोग गर्न विकास साझेदारहरुलाई आग्रह पनि गर्नुभएको छ ।
लैङ्गिक हिंसा र सबै किसिमका विभेदको अन्त्य गर्न लैङ्गिक हिंसा एवम् विभेद मुक्त स्थानीय तह घोषणा कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने बालमैत्री स्थानीय शासनका सूचकहरुको कार्यान्वयन गरी आगामी चार वर्षभित्रमा बालमैत्री स्थानीय शासन तह घोषणा गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । घोषणा पत्रलाई कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहका लागि लैङ्गिक हिंसा निवारण तथा समावेशी विकासको लागि आधारपत्रका रुपमा लिइने मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले बताउनुभयो । घोषणा पत्रले लैङ्गिक हिंसा निवारण र समावेशी विकासमा सहयाेग पुग्ने उहाँकाे भनाइ छ ।
प्रदेश सरकार, स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्ष र विज्ञसहितको तयारीमा घोषणा पत्र तयार गरिएको हो । समाबेशीकरण र समाबेशी विकासलाई प्राथमिकता दिई बजेट विनियोजन गर्ने, प्रदेश तथा स्थानीय तहको नीति, कार्यक्रम र बजेटको लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण र लैङ्गिक उत्तरदायी बजेट परीक्षण गरी प्राप्त सुझाबको प्रभावकारी कार्यान्वयन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
सामाजिक न्याय र समानतामा आधारित समतामुलक समाजको निर्माण गर्न कर्णाली प्रदेश
सरकारले लिएको लैङ्गिक हिंसा विरुद्धको प्रतिवद्धताहरूलाई स्थानीयकरण गर्ने स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुले प्रतिवद्धता जनाएका छन् ।
बुधबार सार्वजनिक गरिएको घोषणा पत्रमा सरोकारवालाहरुको थप सुझावहरु पनि समावेश गरिनेछ । सरोकारवालाहरुबाट आएका सुझावहरु समेटेर एक हप्तामा मुख्यमन्त्रीले घोषणा पत्र जारी गर्ने जनाइएको छ ।

यस्ताे छ घोषणापत्र 

लैङ्गिक हिंसा निवारण तथा सामाजिक समावेशीकरण सम्बन्धी घोषणा पत्र