कर्णालीमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानकै अवधिमा महिला हिंसाका १६ मुद्धा दर्ता

सुर्खेत । हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारेखसम्म लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विश्वका अधिकांस देशमा मनाइन्छ । नेपालमा पनि विगतदेखि नै यो दिवस मनाइदै आइएको छ ।
यस बर्षको अभियान भर्खरै सकिएको छ । अभियानको १६ दिनमा कर्णाली प्रदेशमा १६ घरेलु हिंसा तथा अपराधसम्म १६ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।
लैंङ्गिक हिंसा बिरुद्धको अभियान चलेकै बेला गत मंगलबार सुर्खेतको पञ्चपुरी नगरपालिका–३ का ३८ वर्षीय अम्मरबहादुर आले मगरले आफ्नी ३० वर्षीय श्रीमती मिना आले मगरको विभत्स हत्या गरे । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले हसिँयाले घाँटी रेटेर श्रीमतीको हत्या हुन् ।
प्लास्टिकमा श्रीमतीको काटेको टाउको बोकेर हिँड्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले उनलाई कर्तव्य ज्यान अन्तर्गत मुद्धा दर्ता गरेर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको डिएसपी सुरज कार्कीले बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरीका कार्यालयका अनुसार अभियानका १६ दिनको अवधिमै ११ वटा बलात्कारका मुद्धा दर्ता भएका छन् । सुर्खेतमा ४, रुकुम पश्चिम र कालिकोटमा २–२ जाजरकोट र डोल्पामा १–१ वटा बलात्कार तथा सल्यानमा १ वटा बलात्कार प्रयास कसुरमा मुद्धा दर्ता भएका छन् ।
यस्तै रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यानमा एक एक वटा बहुविवाहका मुद्धा दर्ता भएका छन् । हत्यामा सम्बन्धी एक, बलात्कारका ४ र बहुविवाहको एक गरी सबै भन्दा धेरै सुर्खेतमा ६ वटा घटना घटेका छन् ।

यस अवधिमा हुम्ला, मुगु र जुम्लामा भने लैंङ्गिक हिंसासम्बन्धी कुनै पनि मुद्धा दर्ता भएका छैनन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णालीमा प्रत्येक दिनजसो महिलाहरू कुनै न कुनै हिंसाको सिकार भइरहेका छन् । महिलाहरू घरेलु, यौनजन्य र लैङ्गिक हिंसामा धेरै पर्ने गरेका हुन् । समाजमा हुने अनेकखालका हिंसाबाट सबै उमेर समूहका महिलाहरू प्रताडित छन् । प्रहरीमा परेका उजुरीले बालिकादेखि वृद्ध उमेरसम्मका महिलाहरू हिंसामा परेको देखिएको छ ।
कर्णालीमा करिब दुई वर्षको अवधिमा मात्रै तीन सय ८७ वटा बलात्कार सम्बन्धी मुद्धा दर्ता भएका छन् । यस्तै बहुविवाह र घरेलु हिंसाबाट महिलाहरु पीडित छन् ।
कर्णालीमा महिलाको मानव अधिकारको अवस्था कम्जोर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । दण्डहिनताले प्रसय पाउनु तथा कानुनको कडाइका साथ कार्यान्वयन नहुनले महिलामाथि हुने हिंसामा कमी आउन नसकेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश प्रमुख नारायण सुवेदी बताउनुहुन्छ ।
कर्णालीका महिलामाथि हुने हिंसा निवारणका लागि सरकारी तथा गैरसरकारी तवरबाट थुप्रै लगानी भएको छ । तर अहिले सम्मका कार्यक्रमहरुले खासै उपलब्धी हुन सकेको छैन् । प्रदेश सरकारको भने सरकार एक्लैले नभई सबै सरोकारवालाहरुको प्रयासबाट मात्रै हिंसा निवरण गर्न सकिने धारणा छ ।