सुर्खेत। जलवायु परिवर्तनको असरबाट बढी बालबालिका प्रभावित भएको भन्दै अब सरकारले यस्तो असर घटाउने नीति लिनुपर्ने सुझाव दिइएको छ ।
सेभ द चिल्ड्रेनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको जलवायु न्यायका लागि बालबालिकाको आवाज विषयक सार्बजनिक तथा नीतिगत संवाद कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिएका हुन ।
कार्यक्रममा बोल्दै अमरज्योती मावीका छात्रा चेतना रानाले भविश्यको पुस्ताको अस्तित्वलाई ध्यान दिएर भावी पुस्ताले काम गर्नुपर्ने बताउनुभयो ।
उहाले जलवायु परिवर्तनलाई सघाउ पुर्याउने काम मानव समुदायबाट नै भएको भन्दै सरकारले नीति बनाउँदा यसको असर न्युनिकरणतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
अमर ज्योती मावीकै छात्रा सविता ओलीले पनि वातावरणलाई असर गर्ने खालका पलाष्टिकजन्य वस्तुहरुको नियन्त्रण गर्नतर्फ सोच्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागि बालबालिकाहरुले रासायनिक मल प्रयोग हटाउन कर्णाली प्रदेश सरकारले नीतिगत योजना ल्याउनुपर्ने, विद्यालय तहमा नै बालबालिकाहरुलाई यस सम्बन्धी सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख अनिता ज्ञवालीले पृथ्वीलाई स्वच्छ रुपमा जसरी प्राप्त गरेको त्यसरी नै अर्को पुस्तालाई दिन सक्नुपर्ने बताउनुभयो ।
उहाले भन्नुभयो, हामीले पृथ्वीलाई स्वस्थ रुपमा प्राप्त गरेको छौ, त्यसरी अर्को पुस्तालाई दिन सक्नुपर्छ । जलवायु परिवर्तनको असरबाट बचाउन प्रत्येक व्यक्तिको भुमिका महत्त्वपूर्ण हुन्छ ।” विषेशगरि बालबालिकाहरु यसको मारमा धेरै परेका छन, हामी सबैले सोच्ने बेला आएको छ ।”
जलवायु परिवर्तनबाट हुने असर बचाउन नीती कार्यक्रममा उल्लेख गर्न पहल गर्ने प्रतिवद्धता जनाउँदै उहाले विद्यालय तहमा नै जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम गरिने बताउनुभयो ।
यता, मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले जलवायु परिवर्तनबाट हुने असरबाट बचाउन सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो, “राजनितिक दलहरुले घोषणापत्रमा समेत यी कुराहरु उल्लेख गरेको पाइयो, अब घोषणापत्रमा मात्रै होइन व्यवहारमा लागु गर्ने बेला आएको छ ।”
नागरिक समाजको तर्फबाट जलवायु परिवर्तनको असर रोक्न वकालत गर्ने उहाले बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
जलवायु परिवर्तनको चपेट्टामा बालबालिका: सेभ द चिल्ड्रेन
जलवायु परिवर्तनको असर बालबालिकाले धेरै भोगिरहेको पाइएको छ । सभे द चिल्ड्रेनले गरेको अध्ययनमा जलवायु परिवर्तनको असरले बालबालिका धेरै प्रभावित भएको पाइएको हो ।
नेपालका ७ हजार ६ सय ७४ बालबालिकासहित विश्वभरका विभिन्न देशका बालबालिकाको प्रत्यक्ष सहभागितामा गरिएको अध्ययनमा गरिबीको रेखामुनी रहेका, असमानता र भेदभावबाट सबैभन्दा बढी प्रभावित भएका बालबालिका जलवायु परिवर्तनको बढी प्रभावमा परेको देखिएको छ ।
सर्वेक्षणमा सहभागि ८५ प्रतिशत बालबालिकाले जलवायु परिवर्तन वा असमानतासँग जोडिएको परिवर्तन देखिरहेको बताएका छन । भने ६९ प्रतिशत बालबालिकाले मौसममा आएको परिवर्तन झन खराब हुँदै गएको बताएका छन । त्यसैगरी, ४२.८ प्रतिशत बालबालिकाले सामान्यतया जलवायु परिवर्तनको असरले बालबालिकाको मानसिक स्वास्थ्य अवस्था विग्रदै गएको सुनाएका छन ।
सर्वेक्षणमा सहभागि ७४.४ प्रतिशत बालबालिकाले जलवायु संकट तथा आर्थिक असमानतालाई सम्बोधन गर्न सबैको भुमीका हुने भन्दै सरकारले नीति र नियम बनाएर कार्यान्वयन गनुपर्नेमा जोड दिएका थिए ।
उनिहरुले जलवायु परिवर्तन र यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित हुनेतर्फ सचेत गराउँदै बालबालिका क्षेत्रमा लगानी बढाउन, बालबालिकाको आवाज सुन्न र जलवायु परिवर्तनका लागि नीतिगत कार्यहरु लिन सुझाव समेत दिएका छन ।
–––
