निर्वाचनको अन्तिम मतपरिणाम प्रदेश प्रमुख समक्ष पेश

सुर्खेत । निर्वाचन आयोगले कर्णाली प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम प्रदेश प्रमुखलाई बुझाएको छ ।
प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान बमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो ।
निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार कर्णाली प्रदेश सभातर्फ ४० जना निर्वाचित भएका छन् ।
जसमा पुरुष २५ जना ६२ दशमलव ५ प्रतिशत र महिला १५ जना ३७ दशमलव ५ प्रतिशत सांसद बनेका छन ।
कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रतिवेदन अनुसार प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ११३ र महिला ३ गरी कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल २०० जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।
प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि महिला ४ लाख ९७ हजार २८०, पुरुष ५ लाख १० हजार ४२० र अन्य ३ गरी कूल १० लाख ८ हजार ४०३ मतदाता कायम रहेको आयोगले जनाएको छ ।
कर्णालीमा १० लाखभन्दा बढी मतदाता संख्या थियो । तर निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७ सय १७ (६० दशमलव ९६ प्रतिशत) मत खसेको थियो ।
जसमध्ये ५ लाख ८९ हजार ४८४ (९५ दशमलव ९ प्रतिशत) मत सदर भएको थियो भने २५ हजार २३३ (४ दशमलव १०) प्रतिशत मत बदर भएको थियो ।
यस्तै, प्रदेश सभा सदस्यको लागि निर्वाचनमा भाग लिएका २२ वटा राजनीतिक दलहरूको धरौटी जफत गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रदेश सभातर्फ बन्दसूची पेस गर्ने दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको हो ।