कर्णाली सरकारको यो बर्षको बजेट खर्च पनि निरासाजनक

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९.८० प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १५ वटा शीर्षकमा ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार कुल बजेट विनियोजन गरेको थियो ।
६ महिनाको अवधिसम्म आईपुग्दा ३ अर्ब १९ करोड ५९ लाख १६ हजार ७०८ रुपैयाँ बराबरको बजेटमात्रै खर्च भएको हो ।
कार्तिक मसान्तसम्म ७.६७ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले एक महिनाको अवधिमा झण्डै २ प्रतिशतमात्रै बजेट खर्च गरेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सबैभन्दा बढी प्रदेश लोक सेवा आयोगले २७.६२ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले २७.२८ प्रतिशत बजेट खर्च गरेका छन् ।
सरकारले आयोगका लागि ११ करोड ४२ लाख ६८ हजार र मुख्य न्यायाधिवक्ताको कार्यालयका लागि १ करोड ८६ लाख ३६ हजार वार्षिक बजेट छुट्याएको थियो ।
यता, प्रदेश सरकारका अर्थमन्त्री कृष्णा शाह चुनावका कारण विकास बजेट कार्यान्वयन हुन नसकेको दाबी गर्नुभयो ।