कर्णालीको शिक्षा क्षेत्रका लागि विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिदै


सुर्खेत, १३ पुस ।
कर्णाली प्रदेशमा शिक्षा क्षेत्रका लागि प्रदेश स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार गरिएको छ ।
सामाजिक विकास मन्त्रालयको अगुवाईमा सरोकारवालाहरुको सहभागितामा विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा निर्माण गरिएको हो । वीरेन्द्रनगरमा हिजो र आज आयोजना गरिएको कार्यशालाबाट योजनाको मस्यौदा तयार गरिएको छ । कार्यक्रममा दशवटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख, सामाजिक विकास मन्त्रालय शिक्षा शाखा, शिक्षाका लागि राष्ट्रिय अभियान, विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कर्णालीको भूगोल अनुसार हिमपात, बाढी पहिरो, डुवान, भूकम्प लगायतका विपद्को जोखिमलाई मध्यनजर गरेर योजना निर्माण गरिएको बताइएको छ । विभिन्न चरणमा छलफलगरी मस्यौदालाई अन्तिम रुप दिइनेछ । त्यसका लागि सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत बलवीर सुनारको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
योजनाले विपदका बेला विद्यालयलाई सुरक्षित गर्न र शिक्षण सिकाईलाई निरन्तर सहयोग पुग्ने शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक एवं कर्णाली प्रदेश शिक्षा समूहका संयोजक दिपा हमालले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जहवारलाल हमालले शिक्षा क्षेत्रको लागि तीनै तहका सरकारले समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताउँदै विपत प्रतिकार्य योजना पनि सोही अनुसार निर्माण गरिने बताउनुभयो । प्रतिकार्य योजना निर्माणका लागि आयोजना गरिएको दुई दिने कार्यशालामा नेपाल शिक्षा समूह, यूएनडीपी, यूएनउमन, प्लान इन्टरनेश्नल, यूरोपियन यूनियन, मर्सिक्रप, एनसेट, समाज जागरण केन्द्र (स्याक) नेपाल लगायतको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो।