कर्णाली प्रदेशसभाको प्रथम अधिवेशन आह्वान

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गरेका हुन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते सोमबार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।
प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नेछन् । सभामुख र उपसभामुख निर्वाचित भएर नआउञ्जेलसम्म ज्येष्ठ शाह सभामुखको भूमिकामा रहने जनाइएको छ ।