कर्णालीका दुई स्थानीय तहको उदाहरणिय कामः योजना सम्झौताको काम वडामै

सुर्खेत । कर्णालीका दुई स्थानीय तहले योजना सम्झौताको काम वडाबाटै गर्न शुरु गरेका छन ।
योजना सम्झौता गर्न जाँदा लाग्ने खर्च र नागरिकले भोग्नुपरेको सास्थीलाई अन्त्य गर्न भन्दै दैलेखको गुराँस गाउँपालिका र सल्यानको वागचौर नगरपालिकाले वडा स्तरबाट नै योजना सम्झौताको काम शुरु गरेका हुन ।
गाउँपालिकाबाट सञ्चालन हुने सम्पूर्ण योजनाहरू वडा तहमै सम्झौता गर्न सकिने गरि घुम्ती शिविर सञ्चालनमा ल्याएको भन्दै योजना सम्झौता गर्न उपभोक्ताहरू गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको गुराँस गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दीपेन्द्र ओलीले बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका ओलीले पुस ७ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नाराको साथ चालू आर्थिक वर्षका स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गतका योजना सम्झौता गर्न वडाहरूमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।
ससाना योजनाहरूको सम्झौता गर्न पनि उपभोक्ताहरू गाउँ कार्यपालिकाको केन्द्रमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँपालिकाले वडागत घुम्ती शिविरहरू सञ्चालन गरेको छ ।
पुस १२ गतेबाट घुम्ती शिविर सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले जानकारी दिनुभयो । यता, सल्यानको वागचौर नगरपालिकाले पनि योजना सम्झौताको सुरुवात वडा नं. १२ बाफुखोलाबाट सुरु गरेको थियो ।
योजना सम्झौता मात्र नभई पालिकाले स्थानीय बैंकसँग सहकार्य गरेर स्थानीयस्तरबाटै खाता खोल्ने व्यवस्थासमेत मिलाएको छ ।
वडा स्तरबाटै योजना सम्झौता गर्दा सम्बन्धित वडाका उपभोक्ता समितिमा बसेका पदाधिकारीलाई नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख जनकराज गौतमले बताउनुभयो ।
योजना सम्झौता गर्दा वडाअध्यक्ष, प्राविधिक सचिवलाई सँगै राखिएको उहाले जानकारी दिनुभयो । यी दुइ पालिकाले गाउँमै सिंहदरबार पुगेको अनुभुती गराएको स्थानीयले बताएका छन ।