
सुर्खेत, १४ पुस ।
कर्णाली प्रदेशमा बालविवाह अन्त्यका लागि रणनीति निर्माण गर्न थालिएको छ ।
प्रदेशमा बालविवाहको अन्त्यका लागि सामाजिक विकास मन्त्रालयले उक्त रणनीति निर्माण गर्न लागेको हो । उक्त नीतिको मस्यौदामाथि आज सरोकारवालाहरुसंग प्रादेशिक परामर्श कार्यशाला मार्फत सुझाव संकलन गरिएको छ ।
कार्यशालामा मन्त्रालयका निमित्त सचिव विनोद कुमार आचार्यले कर्णालीमा बालविवाहको दर उच्च रहेको भन्दै त्यसको अन्त्यका लागि रणनीति बनाउन लागिएको बताउनुभयो । उहाँले रणनीति कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकायसंगै सबै रोकारवाला हरु एकीकृत रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले बालविवाहले व्यक्ति, परिवार र समाजको विकासमा असर पारेको प्रसंग उल्लेख गर्दै समृद्ध प्रदेश निर्माणका लागि बालविवाह अन्त्य गर्नुपर्ने बताउनुभयो । बालविवाहले बहुआयमिक समस्या निम्त्याउने भन्दै ज्ञवालीले यसको अन्त्यका लागि एकीकृत रुपमा काम गर्ने रणनीति निर्माण गर्न लागिएको बताउनुभयो ।
प्लान इन्टरनेश्नलसंगको सहकार्य बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको समन्वय सहजीकरणमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यशालामा रणनीतिको मस्यौदामाथि गहल छलफल गरिएको छ । छलफलमा सहभागीले कर्णालीको परिवेश,अवस्था अनुसारको रणनीति हुनुपर्नेमा जोड दिएका छन् । उक्त रणनीति अनुसार २०७९ देखि २०८७ सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य लिइएको छ ।
