सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिने स्थानीय सरकारहरुको योजना

सुर्खेत । कर्णालीका स्थानीय तहहरुले सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिन निःशुल्क स्वास्थ बीमा देखि आपतकालिन उपचार कोष स्थापनाका कार्यक्रम संचालनमा ल्याएका छन् ।
नागरिकले आर्थिक अभाव, गरीबी र चेतनाको कमीका कारण रोग पालेर बस्ने र सामान्य उपचारसमेत पाउन नसक्ने बाध्यतालाई अन्त्य गर्न स्वास्थ्य सम्बन्धी महत्वपूर्ण कार्यक्रमहरुको संचालनमा ल्याएका हुन ।
डोल्पाको जगदुल्ला गाउँपालिकाले पालिका भित्रका सबै नागकिरको जीवन रक्षाको लागि निशुल्क स्वास्थ बीमा कार्यक्रमको शुरूवात गरेको जनाएको छ । नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउने गरि पालिकाले ल्याएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई गाउँपालिकाले अहिले थप सहजिकरण गरि अगाडी बढाइएको गाउँपालिका अध्यक्ष नारासिं रोकायले जानकारी दिनुभयो । उहाले भन्नुभयो, “हामीे नागरिकहरुको स्वास्थ्यप्रति गम्भिर छौँ । बिरामीहरुलाई उपचार गर्दा सहज होस् भनेर सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागेका छौ भने स्वास्थ्य क्षेत्रमा वजेट पनि वृद्धि गरेका छौँ ।”
उहाँका अनूसार गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सर्सत अनदान बाहेको समानिकरणतर्फ ४५ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, जाजरकोटको बारेकोट गाउँपालिकाले पनि स्वस्थ नागरिक विना सक्षम राष्ट्र निमार्णको परिकल्पना गर्न नसकिने भन्दै स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर योजनाहरु बनाएको छ ।
गाउँपालिका अध्यक्ष बीर बहादुर गिरीले भन्नुभयो, “हामीले विपन्न नागरिकको उपचारमा सहजताका लागि आपतकालिन उपचार कोषको स्थापना गरेका छौँ । यो कोषमा जम्मा भएको रकम विपन्न नागरिकहरुको स्वास्थ्य उपचारको लागि खर्च गरिने छ ।”
बारेकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको २५ प्रतिशत अर्थात १५ करोड बजेट स्वास्थ्यका क्षेत्रमा विनियोजन गरेको छ ।
कालिकोटको महावै र शुभकालिका गाउँपालिकाले पनि सबै नागरिकको निःशुल्क स्वास्थ बीमा संचालनमा ल्याएको बताएका छन् ।
महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले आफु निर्वाचित भइसकेपछि पहिलो निर्णयमा नै सबै नागरिकको पहुँच पुर्याउनेगरी निशुल्क स्वास्थ्य विमा कार्यक्रम लागु गरेको बताउनुभयो ।
अहिले १६ सय घरदुरी रहेको मध्य अहिलेसम्म ३ सय भन्दा धेरै घरदुरी स्वास्थ्य विमामा आवद्ध भइसकेको अध्यक्ष सिंहले बताउनुभएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको लागि कुल बजेटको ३२ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ ।
यस्तै, कालिकोटकै शुभकालिका गाउँपालिकाल पनि विपन्न, एकल महिला र एकल पुरुष, सहित र घाइते परिवारलाई निशुल्क स्वास्थ्य सम्बन्धि ४० लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले पाँच वर्ष भित्र सबै नागकिरको निशुल्क स्वास्थ्य विमा गरिसक्ने लक्ष्य अनूसार एक वर्षमा ११ सय घरपरिवारको विमा बनिसक्ने बताउनुभएको छ ।
संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको व्यवस्था गरेको भन्दै संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रलाई महत्व दिएको पालिकाका प्रमुखहरुको भनाई छ ।