मंगलगढी प्राविमा स्वास्थ्य शिविर, साढे ५ सयले लिए सेवा

सुर्खेत, २२ पुस ।
वीरेन्द्रनगर १० स्थित मंगलगढी प्राथमिक विद्यालय दीपनगरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विद्लायको व्यवस्थापन तथा जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा आज शिविर सम्पन्न भएको हो । शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान घाँटी, मुख, आँखा, सुगर, उच्च रक्तचाप, छला र पाठेघरको मुखमा हुने क्यान्सरको जाँच गरिएको थियो । शिविरमा पाँच सय ५० जनाले सेवा लिएको जिल्ला जन स्वास्थ्य सेवा कार्यालयका अमर रानाले जानकारी दिनुभयो । विद्यार्थीहरु र अभिभावकहरुको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।
शिविरको उद्घाटनका क्रममा वीरेन्द्रनगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्र प्रसाद शर्माले बालबालिका स्वस्थ भएपछि मात्रै उचित शिक्षा हाँसिल गर्न सक्ने भन्दै स्वास्थ्य शिविर महत्वपूर्ण भएको बताउनुभयो । वडा नं. १० का अध्यक्ष डीलबहादुर रखालले बजारको नजिकै भएपनि पछाडी परेको समुदायका बालबालिका अध्ययन गर्ने गरेको भन्दै स्वास्थ्य शिविरले विधार्थी अभिभावको स्वास्थ्यमा टेवा पुग्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर विसीले आफूले गरेको अनुरोधलाई स्वीकारगरी शिविर आयोजना गरिदिएको प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । शिविरको लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा, साइनिङ अस्पताल सुर्खेत, जनसेवा डेण्टल, ओम कर्णाली डेण्टलको समन्वय तथा सहयोग रहेको थियो ।