सुर्खेत । सुर्खेतमा सञ्चालित अवैध क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै अवैध रुपमा चलाइएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले हस्ताक्षर गरेको सूचनामा प्रचलित कानून र मापदण्ड विपरीत अनुमति नलिई, दर्ता नवीकरण नगरी चलाइएका ढुंगा, गिट्टी तथा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न भनिएको छ ।
विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनमा सञ्चालन भएका, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।
प्रचलित कानून बमोजिम सञ्चालनमा रहेका क्रसर उद्योगले पनि प्रक्रिया पूरा गरेको कागजात पेश गर्न प्रशासनले आग्रह गरेको छ । कानूनी मापदण्ड पूरा नगरी र प्रशासनसँग समन्वय नगरी चलाइएका उद्योगलाई कानूनी कारबाही गरिने प्रशासनले जनाएको छ ।