सुर्खेत, ३० पुष । कर्णाली प्रदेशको सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ ।
आज सांसद नन्दा गुरुङ र खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो । प्रदेश सभाको कार्यालयका पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट एमालेकी नन्दाले नेपाली काँग्रेसबाट पोखरेलले सभामुखको लागि उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यातालिका अनुसार उनिहरुले सभामुख पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सचिव जीवराज बुढाथोकीका अनुसार नेपाली कांग्रेसबाट पोखरेलले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएका थिए भने गठबन्धनको तर्फबाट एमालेकी गुरुङले दिउँसो करिब ४ बजे उम्मेदवारी दार्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार बनेका सांसद पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१) बाट निर्वाचित भएका सांसद हुने भने एमालेबाट उम्मेदवार बनेकी गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् ।
प्रदेशसभा सचिवालयका अनूसार आइतबार भोली बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्तासम्बन्धी समय रहेको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ ।
त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनभित्र रहेको माओवादीले मुख्यमन्त्री पाएपछि नेकपा एमालेको भागमा सभामुख परेको छ ।
४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र १÷१ गरि ३ जना सांसद रहेका छन् ।