नन्दा गुरुङ्ग : वडा सदस्यदेखि प्रदेशसभामा नेपालकै पहिलो सभामुख महिला

सुर्खेत, १ माघ ।
नेकपा एमालेकी नन्दा गुरुङ्ग कर्णाली प्रदेशसभाको सभामुखमा निर्वाचित भएकसंगै उहाँ सातै प्रदेश मध्य प्रदेशसभाको पहिलो सभामुख महिला बन्नु भएको छ । अघिल्लो कार्यकालमा सातै प्रदेशको सभामुखमा पुरुष थिए भने यस पटक पनि अहिलेसम्म सभामुखमा महिला निर्वाचित हुने उहाँ मात्रै हुनुहुन्छ ।
२०२३ साल फागुन २ गते दैलेखको नारायण नगरपालिका ७ नयाँगाउँमा जन्मिनुभएकी गुरुङको परिवार बसाई सरेपछि बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा वितेको थियो । दाईहरु राजनीतिमा आवद्ध भएकाले उहाँमा सानै देखि राजनीतिक चेतथियो । दाईहरुकै प्रभावले २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियु छैठौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएकी गुरुङले २०४६ पछि नेकपा एमालेको राजनीति सुरु गर्नुभएको थियो । एमाले पार्टीको प्रारम्भिक कमिटिदेखि आबद्ध हुँदै तीन कार्यकाल जिल्ला कमिटि सदस्यका रुपमा काम गरिसक्नुभएकी गुरुङ्ग अहिले प्रदेश कमिटि सदस्य हुनुहुन्छ । साथै अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । यसअघि उहाँले एमालेकै भातृ संगठन युवा संघमा पनि काम गर्नुभएको थियो ।
वीरेन्द्रनगर १२ मा रहेको अमर ज्योति माध्यामिक विद्यालयमा खुला शिक्षा तर्फबाट २०६५ एस एलसी उत्तिर्ण गर्नुभएकी उहाँले जनमाध्यामिक विद्यालयबाट प्रविणता तह र शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक तह अध्ययन पूरा गर्नुभएको छ । उहाँका पतिको २०५४ सालमा निधन भएको थियो । उहाँ एकल महिला तथा महिलाहरुको हक हितका लागि  पनि क्रियाशिल हुनुहुन्छ । हाल मानव अधिकारका लागि एकल महिला समूह सुर्खेतकाे काेषाध्यक्ष पनि हुनुहुन्छ ।