कर्णालीका हिमाली जिल्लामा बर्षेनी औषधी अभाव

सुर्खेत । कर्णालीका हिमाली जील्लाहरुमा बर्षेनी औषधी अभाव हुने गरेको भएपनि सम्बन्धित नीकायले ध्यान दिन सेकेको छैन ।
पालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरुमा औषधि नहुदा बिरामीहरु मर्कामा पर्ने गरेका हुन । उनिहरुले संघियतापछि नजिकै सरकार आउँदा समेत औषधी अभाव हट्न नसकेको बताएका छन ।
स्थानीय तहले समयमा खरिद नगर्दा औषधि अभाव भएको नागरिकहरुको गुनासो छ । मुगुको छायाँनाथ रारा नगरपालिका १२ का स्थानीय मिलन विकले स्थानीय स्वास्थ्य संस्थाहरुमा औषधी नहुने र भएको औषधी पनि सहजरुपमा उपलब्ध हुन नसक्ने अवस्था रहेको गुनासो गर्नुभयो ।
उहाँले एन्टीबाइटिक, आँखाको औषधि लगायतका औषधि अभाव भएपछि ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामी प्रभावित भएका कर्णाली रैबारसँग गुनासो गर्नुभयो ।
स्वास्थ्य संस्थामा स्थानीय सरकारबाट खरिद गरी वितरण गर्ने औषधि हालसम्म खरिद भएको छैन । खत्याड गाउँपालिका अन्र्तगतको गुम्था हेल्थ पोस्टका इन्चार्ज मानबहादुर रोकायले गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा नपठाउने गरेकाले समस्या हुने गरेकाको बताउनुभयो ।
हिमाली जिल्लाका स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने बिरामीहरूले सबै प्रकारका औषधी सहजै पाउन सक्ने अवस्था नरहेको उहाले बताउनुभयो ।
त्यसैगरी, जाजरकोटका स्वास्थ्य संस्थाहरुमा पनि बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन् ।
चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको हुन ।
फार्मेसीमा औषधिका लागि पुर्जा लिएर बिरामीका आफन्तहरू आउने गरेको भएपनि औषधि नपाएर फर्किने गरेको स्वास्थ्यकर्मीले भनाई छ ।
छेडागाड नगरपालिका नगर अस्पताल कार्यरत अहेव रामप्रसाद शर्माले स्थानीय तहले औषधि खरिद सिस्टमबाट हुने गरेको भन्दै पालिकामा बजेट अभावले गर्दा पनि औषधि खरिदमा समस्या हुने गरेको बताउनुभयो ।
उहाँका अनूसार सदरमुकाम भन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ ।
कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा अझै पनि बच्चाका लागि पारासिटामोल, एन्टीबाइटिक, आँखाको औषधि, जीवनजल लगायतका सरकारले निशुल्क दिने औषधिको अभाव छ ।
यता, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले भने औषधीको अभाव नरहेको दाबी गरेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम बहादुर केसीले जाजरकोटलगायतका केही जिल्लामा औषधी अभाव भएका भन्ने सुचना आएकाले औषधी पठाउने बताउनुभयो ।