पालिका र पावर परियोजनाबिच साझेदारीमा काम गरिने
सुर्खेत । सुर्खेत वराहाताल गाउँपालिकाका ४० जना युवाहरुलाई यो बर्ष स्वरोजगार बनाइने भएको छ ।
वराहाताल गाउँपालिका र सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना मार्फत सन २०२३ भित्र ४० जना युवाहरुलाई स्वरोजगार बनाइने भएको हो ।
वराहाताल गाउँपालिकासँगको समन्वयमा पावर परियोजनाले सन २०२२ मा गरेको प्रगति समिक्षा र सन २०२३ मा गरिने क्रियाकलापका विषयमा आज छलफल भएको हो । छलफलका सुझावको आधारमा गाउँकार्यपालिकाले परियोजनासँग साझेदारी गरेर काम गर्ने निर्णय गरेको हो ।
यो बर्ष परियोजना मार्फत ४७ लाख २३ हजार ६ सय र पालिकाको तर्फबाट १३ लाख बजेट रहने छ ।
परियोजनाले संचालन गर्ने विभिन्न क्रियाकलापमध्य युवा रोजगार, शिक्षा, स्वास्थ्य सरसफाई र शौचालय निर्माणमा साझेदारी हुने छ ।
पालिकाले युवा रोजगारमा ५ लाख खर्च गर्ने छ भने शिक्षामा २ लाख र स्वास्थ्य सरसफाई र शौचालय निर्माणमा ६ लाख रकम खर्च गर्ने छ ।
पालिका र परियोजनाबिचको साझेदारीमा निम्न वर्गका १८ देखि २४ बर्ष उमेरसमुहका ४० जना युवाहरुलाई उद्यमशिलता र सिपमुलक तालिम दिएर स्वरोजगार बनाइने छ । त्यसैगरी अति विपन्न शौचालय नभएका परिवारका लागि परियोजनाको तर्फबाट १० र पालिकाको तर्फबाट ५ वटा शौचालय निर्माण गरिने भएको छ । भने अग्रेजी, गणित र विज्ञान विषयमा उपचारात्मक कक्षा संचालनमा पनि साझेदारी गरि कार्यक्रम संचालन गरिने छ ।
यस अघि गत बर्ष परियोजना मार्फत सरस्वती मावी २ कोठे बालमैत्री शौचालय निर्माणका साथै अन्य आर्थिक अभाव भएर शौचालय बनाउन नसकेका १९ घरपरिवारको लागि पक्की शौचालय निर्माण गरिएको थियो ।
यसैबिच, परियोजनाले सन २०२२ मा गरेका प्रगतीको समिक्षा समेत गरिएको छ ।
गत बर्ष गरिएका प्रगति विवरण सार्बजनिक गर्दै परियोजना संयोजक तेज सोनामले २० महिला १३ जना पुरुष र तिनजना अपाङ्गता भएका व्यक्तीहरु गरी ३३ जनालाई उद्यमी बनाइएको जानकारी दिनुभयो ।
उनिहरुको व्यवसाय संचालनको लागि प्रति व्यक्ती २८ हजारका दरले ९ लाख २४ हजार रकम खर्च गरिएको बताउनुभयो ।
वेरोजगार, विद्यालय बाहिर रहेका गरिबीको रेखामुनी रहेका, अपांगता सिमान्तकृत तथा पछाडी पारिएका सुमदाय र परिवारका युवाहरुलाई लगुउद्यम विकास तालिम प्रदान गरि स्वरोजगार बनाइएको जानकारी दिनुभयो । उनिहरुले औषधमा अहिले १९ हजार एक सय ९३ रकम मासिक रुपमा कमाउने गरेका छन ।
त्यसैगरी, केही युवाहरुले सिपमुलक तालिम लिएर व्यवसाय संचालन गरिरहेका छन ।
यसैगरी, ४ वटा विद्यालय अति विपन्न परिवारका बालबालिकालाई बर्षरी सहयोग, किशोरकिशोरी मैत्री स्वास्थ्य कर्नर स्थापनाको लागि सहयोग, उपचारात्मक कक्षा लगायतका कार्यक्रम संचालन गरिएको उहाले जानकारी दिनुभयो ।
समिक्षा तथा परियोजना किकअफ बैठकमा बोल्दै वराहाताल गाउँपालिकाका अध्यक्ष भिम भण्डारीले सानो लगानीमा पनि परियोजनाले देखिनेगरी काम गरेको बताउनुभयो ।
उहाले आगामी दिनमा परियोजनाका हरेक क्रियाकलापमा साझेदारी गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
समाज जागरण केन्द्र (स्याक) नेपालका अध्यक्ष मिना तिवारीले सन २०२२ मा स्याक नेपालले संचालन गरेको कार्यक्रमले प्रतिफल हासिल गरेको भन्दै आगामी दिनमा पनि पालिकासँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
उहाले गैर सरकारी संस्था र स्थानीय सरकारबिचमा सहकार्य भएर गरिने क्रियाकलाप दिगो हुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत ललित थापा र विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।