गुराँस गाउँपालिकाको निर्णयः बिचौलियाको जालो चिर्न आफ्नै कृषि उपज संकल केन्द्रहरु स्थापना गरिने

दैलेख । दैलेखको गुराँस गाउँपालिकाले कृर्षि उपज संकलन केन्द्र सञ्चालन गर्ने भएको छ ।
कृषकहरुले उत्पादन गर्ने कृषि उपजहरुबाट भनेअनुसारको नाफा लिन नसकेको भन्दै गाउँपालिकाले प्रत्येक वडामा कृषक उपज संकलन केन्द्र संचालन गर्ने भएको हो ।
गुराँस गाउँपालिकामा आलु लगायतका तरकारी फलफुल उत्पादन राम्रो हुने गर्दछ । तर किसानहरुले उत्पादन गर्ने लागतअनुसारको नाफा लिन सकिरहेका छैनन् ।
गाउँपालिकाभर नै बिचौलियाहरुले संकलन गर्ने र कृषकहरुलाई भनेअनुसारको मुल्य दिन नसकेको बेला गाउँपालिकाको ११ औँ गाउँसभाले कार्यविधि नै पास गरेर प्रत्येक वडामा संकलन केन्द्र स्थापना गर्ने र त्यसको बजारिकरण गरिदिने निति लिएको वडा नम्बर ८ का वडा अध्यक्ष एवम पालिका प्रवक्ता दिपेन्द्र ओलीले जानकारी दिनुभयो ।
ओलीले भन्नुभयो, “हाम्रो पालिका विशेषगरी कृषि बालिहरुमध्य तरकारी उत्पादनको लागि राम्रो मानिन्छ । तर बिचौलियाहरुका कारण कृषकहरुले राम्रो मुल्य पाइरहनुभएको छैन, कृषकलाई राम्रो मुल्य दिनको लागि पालिकाले संकलन केन्द्रहरुको स्थापना सहकारीहरु मार्फत गर्ने छ ।”
ओलीका अनुसार कृषि उत्पादन राम्रो हुने भएपनि किसानहरु मारमा पर्ने गरेको भन्दै अब बिचौलिया हाबी नहुने गरी सहकारी अथवा त्यस्तै प्रकृतीका समुहरुमार्फत कृषि उत्पादन खरिद गरिने छ ।
कृषकले उचित मुल्य पाउनेगरी कृषि उपज संकलन केन्द्र स्थापना गाउँपालिकाले नै गर्न लागेको ओलीले जानकारी दिनुभयो ।
गुराँसको तरकारीको बजारमा राम्रो माग भएपनि कृषकले उचित मुल्य पाउन सकेका छैनन् ।
गाउँपालिकाबाट गत आर्थिक बर्षमा मात्रै ३० करोडभन्दा धेरैको तरकारी र फलफुल निर्यात भएको थियो ।