अक्षय कोष बृद्धि गर्दै अमर ज्योति मा‍.बि, छात्रवृत्तिले पढाइमा निरन्तरता


सुर्खेत, १६ माघ ।
वीरेन्द्रनगर १२ सुर्खेतमा रहेको अमर ज्योति नमूना माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेपछि गरिब विपन्न तथा अभिभावक विहिन विद्यार्थीहरुले पढाइमा निरन्तरता दिएका छन् ।
२०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । अमरज्योतिले प्लसटु तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायका साथै प्राविधिक धारका सिभिल सब इन्जिनियरिङ्ग र जियोमेट्रिक्स विषयका कक्षाहरु सञ्चालन गर्दै आएको छ । कर्णाली प्रदेश राजधानीको केन्द्रमा रहेको अमर ज्योतिमा दश वटै जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् ।
प्राधानाध्यापक खगेन्द्र थापाका अनुसार हाल करिब तीन हजार बिधार्थीले अध्ययन गरिरहेका छन् । विद्यालय क्षेत्र भित्रका र अन्य ठाउँबाट आउने जेहेन्दार, अनाथ, अभिभावक विहिन बालबालिकाहरुलाई विद्यालयले छात्रबृत्ति प्रदान गर्दै आएको छ । आर्थिक समस्याले बीचैमा अध्ययन छोड्नुपर्ने बाध्यता भएका विधार्थीहरुलाई निरन्तर रुपमा छात्रबृत्ति दिने गरेको प्रअ थापाले बताउनुभयो । छात्रबृतिले गरिब जेहेनदार विधार्थीहरूको पढाइलाई निरन्तरता मिलेको उहाँको भनाइ छ ।
विद्यालयले अक्षय कोष स्थापना गरी विपन्न, जेहेन्दार, अभिभावक विधार्थीहरुलाई छात्रबृत्ति दिँदै आएको हो । २०६६ सालमा ८ लाख ३२ हजार रुपैँयाबाट सुरु गरिएको अक्षयकोषमा अहिले २६ लाख ४० हजार १६७ रुपैँया जम्मा भएको छ । एक संस्था र २३ जना दाताहरुले उक्त कोषमा योगदान गरेका छन् ।
कोषबाट हालसम्म पाँच सय ४४ जना विद्यार्थीहरुलाई दश लाख ९८ हजार सात सय रुपैँया छात्रबृत्ति वितरण गरिएको अक्षय कोष समन्वय समितिका संयोजक नवराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार १–५ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई एक हजार पाँच सय, ६–८ मा अध्ययनरतलाई दुई हजार र ९–१२ मा अध्ययनरतलाई तीन हजारका दरले छात्रवृत्ति दिने कार्यविधि छ । समितिले आउँदो बर्षसम्म अक्षय कोषको रकम ३५ लाख पु¥याउने लक्ष्य राखेको छ ।


यसैबीच विद्यालयले सोमबार सहिद दिवसको अवसर पारेर विद्यार्थीहरुलाई यस बर्षको छात्रबृत्ति वितरण गरेको छ । विद्यालयमा स्थापित २४ वटा अक्षयकोष छात्रवृत्तिबाट कक्षा १–१२ सम्मका अध्ययनरत ८४ जना विद्यार्थीहरूलाई अक्षयकोष छात्रवृत्ति गरिएको सहायक प्राधानाध्यापक भूपेन्द्र विसीले जानकारी दिनुभयो । यस्तै कार्यक्रमको अवसरमा केही दाताहरुले अक्षय कोषमा रकम थप पनि गरेका छन् । मानकुमारी ढकालले २ लाख ५ हजार ५५५, हरिप्रसाद उपाध्यायले १ लाख १ हजार १११ र उमापती÷ इन्द्रा गौतमले ५१ हजार कोषमा योगदान गरेको सहायक प्रअ विसीले बताउनुभयो । अमरज्योति पूर्व विद्यार्थी मञ्चले एक बर्षभित्रमा २५ लाख रकम कोषमा जम्मा गर्ने घोषणा गरेको छ । मञ्चका अध्यक्ष युवराज पौडेलले उक्त घोषणा गर्नुभएको हो ।
पूर्व विधार्थी समेत रहनुभएकी कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ्गले छात्रबृत्ति वितरण कार्यक्रमको उद्घाटन गर्दै समृद्धिका लागि शिक्षामा लगानी अपरिहार्य रहेको बताउनुभयो । व्यक्तिगत रुपमा अक्षयकोष स्थापना गरी विधार्थीहरुको पढाइमा सहयोग पु¥याउनु महत्वपूर्ण भएको भन्दै सभामुख गुरुङ्गले यस्ता नमूना कार्य अन्य विद्यालय र समुदायले पनि सिक्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेलले सबै वर्ग र समुदायका विधार्थीहरुको शिक्षामा पुहँच पु¥याउनका लागि अक्षयकोष छात्रबृत्ति मार्फत सहयोग गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा अक्षय कोषको रकम बृद्धि गर्ने योजना सुनाउँदै दाता, सरकारी÷गैरसरकारी निकायहरुलाई सहयोगका लागि आग्रहसमेत गर्नुभएको छ ।