बलात्कारविरुद्ध किशोरीहरु प्रतिकार गर्न सक्षम

सुर्खेत । कर्णालीमा पछिल्लो समय यौन जन्य व्यवहार र बलात्कारका घटनाबाट किशोरीहरु आफै जागरुक बन्न थालेका छन् ।
बलात्कार जन्य घटनामा उमेर पुगेका महिलाको तुलनामा किशोरीहरु बढीपीडित भएको भन्दै उनीहरुले किशोरी आत्मरक्षा अभियानमार्फत जागरुक बन्न थालेका हुन् ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका सदस्य एवंम स्वयम्सेवक सम्झना सुनार किशोरी आत्मरक्षा अभियानमाफर्त बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गने भन्ने विषयबस्तु अरु किशोरीलाई सिकाउने गरेको कर्णाली रैबारमार्फत बताउनुभयो ।
वीरेन्द्रनगरमा नमूना मानव अधिकार रक्षक सञ्जालका युवा अभियन्ताहरु पनि किशोरी आत्मरक्षा अभियानमा जोडिएको छन् ।
इन्सेकको अधिकार दुई परियोजना अन्तरगत सुर्खेतको वीरेन्द्रनगर जस्तै दैलेखको दुल्लू र आठबीस नगरपालिकामा मानव अधिकार रक्षक सञ्जाल गठनगरी किशोरी आत्मरक्षा अभियान चलिरहेको आठबीस नगरस्तरीय मानव अधिकार रक्षक सञ्जालकी संयोजक पवित्रा थापा सिजापतिले बताउनुभयो ।
दैलेख र सुर्खेतका मानव अधिकार रक्षकहरुलाई किशोरी आत्मरक्षा सम्वन्धी प्रशिक्षण दिनुभएकी युवा अभियन्ता सजना सुनारले प्रशिक्षक प्रशिक्षण तालिम चलिरहँदाकै उत्साह र अहिले समुदाय स्तरमा चलिरहेका किशोरी आत्म रक्षा अभियानले बालिकाहरुलाई यौन जन्यघटनाहरुबाट जोगाउन सहज भएका बताउनुभयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले हालसम्म सुर्खेत र दैलेखमागरी ३ हजार भन्दा धेरै किशोरीलाई यो तालिम दिएको बताउनुभयो ।
उहाँले इन्सेकको व्यवस्थापनमा बलात्कार, महिला हिंसाजस्ता घटनाहरु न्यूनीकरण गर्न र यसबाट बच्न सकिने उपायबारे किशोरीहरुलाई जनचेतनामुलक आत्म सुरक्षा तालिम प्रदान गरिएको आएको बताउनुभएको छ ।