कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरी पक्राउ

बाँके । प्रहरीले कैलाली–२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो ।
प्रहरीले चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ को चिसापानी क्षेत्रमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी नागरिक उन्मुक्ति पार्टीको प्रतिधितित्व गर्दै संसदमा प्रवेश गरेका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा चौधरी २१ हजार ८७१ मत ल्याएर विजयी भएका थिए। उनले एमालेका झपटबहादुर रावल र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवाललाई पराजित गरेका थिए। रावलले १६ हजार १२८ मत पाएका थिए भने बडुवाल १५ हजार ११६ मतसहित तेस्रो भएका थिए ।
त्यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले अघिल्लो स्थानीय तह निर्वाचनमा लम्की चुहाबाट पराजित भएका थिए भने लगत्तै सम्पन्न प्रदेशसभामा निर्वाचनमा पनि पराजित भएका थिए।