सार्बजनिक जग्गाकाे संरक्षण गर्दै वीरेन्द्रनगर ८

सुर्खेत, १९ माघ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ८ ले सार्वजनिक जग्गा संरक्षणमा जाेड दिएकाे छ ।

वडा कार्यालयले वडा भित्रका सडक तथा पार्क अतिक्रमण हटाउने अभियानलाई जाेड दिएकाे हाे । केही दिन अघि वडा भित्रका सडक अतिक्रमणगरी बनाईएका घर टहरा हटाएकाे वडाले बुधबार पार्ककाे अतिक्रमण हटाएकाे छ । प्लानिङमा रहेकाे आवास क्षेत्रस्थित मिलन पार्कमा स्थानीयले टहरा बनाउनुका साथै रूख बिरुवा लगाएका थिए । उक्त पार्कमा हाल तारबारगरी संरक्षण गर्ने र पछि पार्ककाे रुपमा विकास गर्ने याेजना रहेकाे वडा अध्यक्ष टीकाराम शर्माले जानकारी दिनुभयाे । तारबारका लागि ठेक्का भैसकेकाे भन्दै मिलन पार्कलाई फन पार्कका रुपमा विकास गर्ने याेजना रहेकाे वडा अध्यक्ष शर्माकाे भनाई छ । उहाँले वडा नं ८ लाई व्यवस्थित एवं रमणिय वडाकाे रुपमा विकास गर्ने याेजना रहेकाे भन्दै त्यसका लागि सहयाेग गर्न वडावासीहरुमा आग्रह गर्नुभएकाे छ । सार्वजनिक जग्गाहरुलाई सार्वजनिक महत्वका लागि प्रयाेग गर्ने याेजना अन्तर्गत वीरेन्द्रनगरका सार्वजनिक जग्गा संरक्षणमा लागेकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताउनुभयाे ।