कर्णालीमा साढे तीन वर्षको अवधिमा एक हजार २ सय २५ बालबालिका हराएको तथ्यांक

सुर्खेत । कर्णालीमा साढे तीन वर्षको अवधिमा एक हजार २ सय २५ बालबालिका हराएको तथ्यांक सार्वजानिक भएको छ ।
हराएकामध्ये एक हजार १६ बालबालिका भेटिएका छन् भने २०९ जना फेला नपरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी छ । यो अवधिमा ६६७ बालिका र ५५८ बालक हराएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा ३२८ बालबालिका हराएका थिए। तीमध्ये १६२ बालक र १६६ जना बालिका हुन् ।
त्यसमध्ये १५१ बालक र १५१ जना बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । हराएका १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन् ।
अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा ३७४ जना बालबालिका हराएका थिए । १३८ बालक र १७६ बालिका हराएकोमा १२५ बालक र १३५ बालिका फेला परेका छन् । ३० बालिका र १३ जना बालक अझै भेटिएका छैनन् ।
त्यस्तै, २०७८÷०७९ मा ४११ जना बालबालिका हराएको प्रहरीको तथ्यांक छ । १५६ बालक र २५५ बालिका हराएका हुन् ।
हराएकामध्ये २४० बालिका र १३७ बालक भेटिएका छन् भने १९ बालक र १५ बालिका फेला नपरेको प्रहरीको विवरण छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म १ सय १२ जना बालबालिका हराएका छन् । त्यसमध्ये ४२ बालक र ७० बालिका भेटिएका छन् । ३१ बालक र ४६ बालिका नभेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । नभेटिएकामा ११ बालक र २४ बालिका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले आर्थिक प्रलोभन, अशिक्षा, गरिबी र कतिपय विवाह गरेर पनि परिवारबाट सम्पर्कविहीन हुने गरेको पाइएको बताउनुभयो ।
बालबालिका हराउनुमा आर्थिक अभाव, बेरोजगारी, साथीहरूको लहलहै, घरासी झै–झगडा, अशिक्षा, मानसिक असन्तुलन, मनोवैज्ञानिक रूपमा कमजोर, भागेर बालविवाह गर्नु र जनचेतनाको कमीजस्ता कारण देखिने गरेको प्रहरीले जनाएको छ ।