कर्णालीमा मृगौला प्रत्यारोपण सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
काठमाण्डौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण कर्णालीमा सुरु भएको हो । शनिबार नवलपरासीका २२ वर्षीय एक व्यक्तिमा मिर्गौला प्रत्यारोपणगरी उक्त सेवा सुरु गरिएको छ ।
सातै प्रदेशबाट मृगौला प्रत्यारोपण सेवा दिने सरकारको योजना अन्तर्गत शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र र कर्णाली प्रदेश अस्पतालबीच २०७८ चैत १० गते सेवा शुरु गर्न सम्झौता भएको थियो ।
सम्झौता भएको दश महिनापछि सेवा सुरु गर्न राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठसहितको टोली तथा कर्णाली प्रदेश अस्पताल निर्देशक डा.डम्बर खड्काको टोलीले शनिबार शल्यक्रिया गरेको हो ।
सात वटै प्रदेशमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने योजना अन्तर्गत उपत्यका बाहिर पहिलो पोखरा र दोस्रो सुर्खेतमा सेवा सुरु गरिएको केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रत्यारोपण सेवा यहिकै जनशक्तिबाट नियमित सञ्चालन गर्नका लागि प्रदेश अस्पतालको आगामी योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाइने निर्देशक डा.डम्बर खड्काले बताउनुभयो ।
तत्कालका लागि बिरामीको चाप अनुसार केन्द्रको टोलीसंग मिलेर सेवा दिइने र एक बर्षपछि आफ्नै जनशक्तिबाट नियमित मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने प्रदेश अस्पतालको योजना छ ।