पेट्रोलियम अन्वेषणको लागि जग्गा प्राप्त गर्न दिन संघिय सरकारले दियो स्वीकृति

सुर्खेत । दैलेखमा रहेको पेट्रोलियम अन्वेषणको लागि जग्गा प्राप्त गर्न दिन संघिय सरकारले स्वीकृति दिएको छ ।
मन्त्रीपरिषदको बैठकले पेट्रोलियम अन्वेषणको लागि भन्दै भैरवी गाँउपालिका वडा नम्बर १ जलजलेमा रहेको जग्गा उपलब्ध गराउन स्वीकृति दिएको हो ।
अन्वेषणको लागि आवश्यक पर्ने ४५ रोपनी जग्गा उपल्बध गराउने मन्त्रीपरिषदले निर्णय गरेको हो ।
यसअघि भैरवी–१को करिब ४५ रोपनी जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदमा प्रस्ताव लिइएको थियो।चीनबाट भारत हुँदै नेपालगञ्ज नाकाबाट भित्रिने ड्रिलिङ उपकरण ६ मिटर चौंडा, ६० टन तौल र १५ मिटर लामो हुने भएकाले सडकका मोडहरु स्तरोन्नति गर्नैपर्ने अवस्था रहेको छ ।
पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो ।
‘चाइना जिओलोजिकल सर्भे’ले अन्वेषणस्थलमा ड्रिलिङका लागि १५ मिटरसम्म लामो फलामे पाइप कन्टेनरमार्फत लैजानुपर्ने बताएको छ । दैलेख पुग्ने कर्णाली राजमार्ग र करिब १० किलोमिटर ग्रामीण सडक साँघुरो र त्यसका घुम्तीहरु सानो भएकाले चुनौतीपूर्ण अवस्था छ ।
यसअघि निर्धारित समयमा दैलेखसम्म ड्रिलिङ उपकरण ल्याउन सक्ने गरी सडक पूर्वाधार स्तरोन्नति गर्न र जग्गा अधिग्रहण गर्न ढिलाइ भएको थियो ।
कात्तिक २०७६ मा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गर्नुभएको थियो ।
दैलेखमा अन्वेषण सफल भएमा पाल्पामा पनि चीनको सहयोगमा अन्वेषणको काम सुरु गर्ने योजना छ ।