कर्णालीका २ जिल्लामा देखियो अफ्रिकन स्वाइन फिबर

सुर्खेत । कर्णाली प्रदेशका दुई जिल्लामा अफ्रिकन स्वाइन फिबर रोग फैलिएको छ ।
बंगुर प्रजातिमा लाग्ने उक्त रोग सुर्खेत र जाजरकोट जिल्लामा पनि फैलिएको हो । पशु पंक्षी विकास निर्देशनालय सुर्खेतका अनुसार उक्त रोगका कारण करिब एक हजार बंगुर मरेका छन् । सुर्खेतमा रहेको पशु पंक्षी रोग अन्वेषण प्रयोगशालामा यसको परिक्षण हुने गरेको छ । सुर्खेत र जाजरकोटका विभिन्न करिब २० फार्ममा अफ्रिकन स्वाइन फिबर भेटिएको प्रयोगशालाका पशु चिकित्सक विकास श्रेष्ठले जानकारी दिए । अहिलेसम्म यो रोगको कुनै खोप वा प्रभावकारी उपचार नभएको भन्दै डा. श्रेष्ठले रोग सर्न नदिका लागि उपाय अपनाउनुपर्ने डा. श्रेष्ठले बताए । उनका अनुसार बंगुर र सुँगुरमा लाग्ने यो रोग लागेमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छ्टपटाउने जस्ता लक्षण देखिन्छन् ।
यसै सन्दर्भमा बंगुर पालक कृषक र पशु प्राविधिकहरुलाई अफ्रिकन स्वाइन फिबर सम्बन्धी अभिमुखीकरण गरिएको छ । वंगरमा लाग्ने उक्त रोगबारे विहीबार एक कार्यशाला मार्फत पशु पंक्षी विकास निर्देशनालयले कृषक र स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरुलाई अभिमूखीकरण गरेको हो । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले अफ्रिकन स्वाइन फिबरबाट ठूलो मात्रामा आर्थिक क्षति हुन सक्ने भन्दै साबधानी अपनाउन आग्रह गरे । निर्देशनालयले जनचेतना फैलाउने लगायतका काम गरिरहेको पनि उनले जानकारी दिए । कार्यालयका सूचना अधिकारी मोहन गिरीले अफ्रिकन स्वाइन फिबर संग मिल्दा लक्षण देखिएका नजिकको पशु सेवा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।