पोषणमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरुलाई अभिमूखीकरण

सुर्खेत, २७ माघ ।
कम तौल भएका बच्चाहरुको व्यवस्थापन तथा पूर्ण स्तनपानमा सुधार ल्याउनका लागि सुर्खेतका स्वास्थ्यकर्मीहरुलाई अभिमूखीकरण गरिएको छ ।
सुर्खेत जिल्लाका सवै बर्थिङ सेन्टरका दक्ष प्रसुतीहरु र क्लिनिकल मेन्टरहरुलाई क्षमता विकास तालिम दिइएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजना तथा समाज जागरण केन्द्र (स्याक) नेपाल, सुआहारा दोस्रो कार्यक्रमको सहयोगमा तालिम आयोजना गरिएको थियो । बुधबार वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका र चिगांड, बराहताल र चौकुने गाँउपालिका गरी ३२ जना र बिहीबार भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिका तथा सिम्ता गाँउपालिकाका २९ जना गरी जम्मा ६१ ज्नाको सहभागिता रहेको थियो । कार्यक्रमले सुर्खेत जिल्लाको पोषणको अवस्थामा सुधार हुनुका साथै कम जन्मतौल र पूर्णस्तनपानको अवस्थामा समेत सुधारमा सहयोग पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा कुपोषणको अवस्थामा केही सुधार भएको तथ्यांक भर्खर मात्र प्रकाशित नेपाल जनसाख्यिक सर्वेक्षण २०२२ ले जनाएको छ । विगतमा ३६ प्रतिशतमा रहेको पुड्कोपना हाल २५ प्रतिशतमा झरेको छ भने १० प्रतिशत रहेको ख्याउटेपना ८ प्रतिशतमा झरेको छ । दिगो विकास लक्ष्य सन् २०३० को लक्ष्य पुड्कोपन र ख्याउटेपनलाई क्रमशः १५ प्रतिशत र ४ प्रतिशतमा झार्नुपर्नेछ । त्यसै गरी कर्णाली प्रदेशको पुड्कोपनामा पनि उल्लेख्य सुधार भई ५४ दशमलव ५ प्रतिशतवाट ३६ प्रतिशतमा झरेको छ । यसका साथै स्वास्थ्य र पोषणको क्षेत्रमा अन्य धेरै सुचकहरु तुलनात्मक रुपमा सुधार भएको तथ्यांक पछिल्लो सर्वेक्षणले देखाउछ । तर बच्चा जन्मदा भने कम तौलको जन्मिने दर वढी भएको र पूर्णस्तनपानको अवस्थामा भने बिग्रिदै गरेको तथ्यांकले देखाउछ ।