अख्तियारमा अनियमितता सम्बन्धीका उजुरीको चाङ

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता हुने अधिकांश उजुरी स्थानीय तहका रहेका छन् ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को हाल सम्म करिब १२ सय उजुरी दर्ता भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाबाट साउन देखि माघ मसान्त सम्म एक हजार एक सय ८९ उजुरी परेका छन ।
ति मध्य हाल सम्म दुई सय ७० उजुरी फच्र्यौट भएका कार्यालय सूचना अधिकारी भेषराज रिजालले कर्णाली रैबारसँग बताउनुभयो । अनियमितता सम्बन्धीका ४ सय भन्दा बढी उजुरीको निर्णय गर्न बाकी रहेको उहाँको भनाइ छ ।
कार्यालयले अधिकांश उजुरी स्थानीय तहबाटै दर्ता हुने गरेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह शिक्षा, कृर्षी सहकारी तथा गरिबि निवारण मन्त्रालय अन्तर्गतका उजुरी आएका छन् ।
यस्तै जिल्लागत रुपमा उजुरीको सख्या हेर्दा कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुबाट अनियमितता सम्बन्धी उजुरी दर्ता भएका सूचना अधिकारी रिजालले बताउनुभयो ।
कार्यालयले वितृततर्फ २७ वटा मुद्धा विशेष अदालत काठमाण्डौँमा पठाएको छ । त्यस मध्ये मुगुका मात्रै १० वटा मुद्धा छन् । अन्य जिल्लाको तुलनामा साविक कर्णालीका ५ जिल्लाहरुमा अनियमितताका उजुरी बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले बताएको छ ।
कर्णालीमा भ्रष्टाचार न्युनिकरणका लागि अख्तियारले अनूसन्धान र पर्वद्धनात्मक कार्यक्रमलाई जोड दिइएको सूचना अधिकारी रिजालले बताउनुभयो ।