
सुर्खेत,२९ माघ ।
सुर्खेतमा किशोर किशोरी प्रजनन् स्वास्थ्य परियोजनाको सुरुवात भएकाे छ । युएसएआइडीको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाहरुको साझेदारीमा यो परियोजनाको सुरुवात गरिएको हो । परियाेजनाले सुर्खेतका लेकवेशी, भेरीगंगा, पंचपुरी र गुर्भाकोट नगरपालिकामा काम गर्ने जनाइएको छ । किशोर किशोरीकाे प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्ने परियाेजनाकाे उधेश्य रहेकाे छ । परियोजनाले प्रजनन् स्वास्थ्यका बारेमा सचेतनामूलक कार्यक्रमहरु गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा सामुदायिक छलफल गर्नेछ ।
आइतबार वीरेन्द्रनगरमा परियाेजनाकाे परिचयात्मक कार्यक्रम सम्मपन्न गरिएकाे छ । कार्यक्रममा लेकबेसी नगरपालिकाका नगरप्रमुख उमेश पाैडेलले कतिपय सामाजिक मान्यताहरूले गर्दा किशाेर किशाेरीकाे स्वास्थ्यमा असर पर्ने गरेकाे बताउदै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेकाे बताउनुभयाे । जिल्ला समन्वय समितिका उपप्रमुख सचिन कुमार बडुवालले मानसिकाे महत्वपूर्ण किशाेरावस्थकाे प्रवर्द्धनका लागि पालिकाहरूले परियाेजनासंग सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयाे । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गाैतमले परियाेजनाका उधेश्य पूरा भएमा सुर्खेतका किशाेर किशाेरीहरूकाे स्वास्थ्य प्रवर्द्धन हुने भन्दै सबैले सहकार्य गर्न आवश्यक रहेकाे बताउनुभयाे । समुदाय स्तरमा किशोर किशोरीहरुको लागि कार्यक्रम ल्याए पनि समाजको डरले सेवा लिन नजाने गरेको बताउदै स्वास्थ्य क्षेत्रको सुधारको लागि विभिन्न संघसंस्थाहरु संग सहकार्य गरेर सधैं काम गर्ने स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले प्रतिवद्धता जनाउनु भयो । सुर्खेत जिल्लामा साझेदार संस्था समाज जागरण केन्द्र स्याक नेपाल रहेको छ ।
पालिकाहरुका प्रमुख, उपप्रमुखहरुले परियोजनाले आफ्नो पालिकाका किशोर किशोरीको प्रजनन् स्वास्थ्यमा ठुलो सहयोग पुर्याउने अपेक्षा राखेको बताएका छन ।
