सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उमेद्वार साझा बन्छः योगेश भट्टराई

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताउनुभएको छ ।
शनिबार प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले आयाजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाट साझा हुने बताउनुभएको हो ।
उहाले भन्नुभयो, ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ । र, गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ ।’
यस्तै सचिव भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘त्यो गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियो । त्यो गठबन्धन पुस १० गते साँझ टुट्यो । टुट्नुपर्ने नै थियो ।’
साथै सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँ एमालेलाई खोज्दै आएको टिप्पणी पनि गर्नुभयो ।
यस्तै सचिव भट्टराईले एमालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) फागुन ५ गते सुरु भएको बताउनुभयो ।
उहाले पार्टीका ४० जना केन्द्रीय सदस्य नेताहरूलाई कर्णालीका ७९ पालिकामा खटाइएको जानकारी दिनुभयो । उहाका अनुसार कर्णालीमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङले नेतृत्व गर्नुभएको छ । यो अभियान सकिएपछि पार्टी नयाँ सिराबाट अगाडी बढ्ने उहाको भनाई छ ।